पुरुष वर्चस्व तोड्दै साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री

जापानको राजनीतिमा पुरुष वर्चस्व तोड्दै साने ताकाइची देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। ६४ वर्षीया ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन्, जसले जापानको युद्धपछिको राजनीतिमा ऐतिहासिक मोड ल्याएको छ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी तथा उनका रूढीवादी दृष्टिकोणकी दृढ समर्थक मानिने ताकाइची आफूलाई “वर्कहोलिक” नेतृका रूपमा परिचित गराउँदै आएकी छिन्। विद्यार्थी जीवनमा हेभी मेटल ब्यान्डकी ड्रमर र मोटरसाइकलप्रेमी रहेकी उनले सधैं “काम नै मेरो जीवनशैली हो” भन्ने आदर्श दोहोर्याउँछिन्।
सन् १९९३ मा नारा प्रान्तबाट संसद् सदस्य बनेकी ताकाइचीले आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयमा जिम्मेवारी सम्हालिसकेकी छन्। तर, उनको कूटनीतिक अनुभव सीमित रहेको विश्लेषकहरूले उल्लेख गरेका छन्। उनी बलियो रक्षा नीति, आणविक संलयन प्रवर्द्धन, साइबर सुरक्षा सुदृढीकरण र आप्रवासन नियन्त्रणमा कडाइको पक्षमा रहेकी छिन्।
उनका दृष्टिकोणलाई “अत्यन्त रूढीवादी” भनिँदै आएको छ। चीन र दक्षिण कोरियाले विवादास्पद ठानेको यासुकुनी मन्दिरमा उनले नियमित दर्शन जाने परम्परा राखेकी थिइन्, जसले उनलाई “चिनियाँ बाज” भनेर चिनाउने बनायो। यही कारण, जापानको ऐतिहासिक व्याख्यामा उनी प्रायः विवादास्पद बनेकी छन्। द्वितीय विश्वयुद्धकालीन जापानी आक्रमण र कोरियाली महिलामाथिको यौन दासत्वबारे क्षमायाचनालाई उनले अस्वीकार गर्दै पाठ्यपुस्तक संशोधन अभियानमा समेत भूमिका खेलेकी थिइन्।
यद्यपि प्रधानमन्त्री बनेपछि ताकाइचीले आफ्नो सरकार महिलामैत्री बनाउने वाचा गरेकी छन्। उनले महिलाको स्वास्थ्य, प्रजनन उपचार र रजोनिवृत्ति जस्ता विषयमा खुलेर छलफल गर्ने संकेत दिएकी छन्। तर नयाँ मन्त्रिपरिषद्मा दुई जना मात्र महिला मन्त्री र तीन विशेष सल्लाहकारमध्ये एक मात्र महिला रहनुले आलोचना खेप्न परेको छ।
उनको सरकार दायाँ धारको नीतितर्फ झुकेको मानिँदैछ। मध्यमपन्थी कोमेइटो पार्टीले गठबन्धन तोडेपछि एलडिपीले दक्षिणपन्थी जापान इनोभेसन पार्टीसँग सहकार्य गरेको छ। राजनीतिक विश्लेषक चियाको सातोका अनुसार, “ताकाइचीको उदयले जापानको सरकार अझ रूढीवादी र राष्ट्रवादी दिशामा उन्मुख हुने संकेत दिएको छ।”
हालै उनले चीनसँग स्थिर सम्बन्ध र दक्षिण कोरियासँग सुरक्षा साझेदारी बलियो बनाउने प्रतिबद्धता जनाउँदै कूटनीतिक सन्तुलन कायम गर्ने प्रयास गरेकी छन्। गत हप्ताको यासुकुनी शरद पर्वमा उनले व्यक्तिगत रूपमा उपस्थित नहुँदै धार्मिक प्रतीक मात्र पठाएर क्षेत्रीय तनाव घटाउने संकेत पनि दिएकी थिइन्।
जापान अझै लैङ्गिक समानताको सूचकाङ्कमा पछाडि रहे पनि ताकाइचीको नेतृत्वले राजनीतिक क्षेत्रमा महिलाको पहुँच र प्रतिनिधित्वबारे नयाँ बहस सुरु गरेको छ—उनको शासन जापानलाई कति “नयाँ” दिशातर्फ लैजान्छ भन्ने कुरा समयले नै बताउनेछ।