गाजामा शान्तिको पहिलो किरण-अमेरिकी पहलमा इजरायल–हमास युद्धविराम सहमति!

दुई वर्षदेखि जारी इजरायल–हमास युद्ध अन्त्य हुने भएको छ। अमेरिका, इजिप्ट, कतार र टर्कीको संयुक्त पहलमा दुवै पक्षबीच युद्धविरामका लागि सहमति जुटेपछि गाजाको विनाशकारी द्वन्द्व अब अन्त्यतर्फ उन्मुख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजिप्टमा सम्पन्न वार्तापछि इजरायल र हमासबीच युद्धविराम सम्झौताको ‘पहिलो चरण’ मा सहमति भएको घोषणा गर्दै भने, “म विश्वस्त छु—सबै बन्धक सोमबारसम्म घर फर्किने छन्।” उहाँले यो सम्झौताबाट दीर्घकालीन शान्तिको प्रारम्भिक ढोका खुलेको दाबी गर्दै आफ्नो २० बुँदे शान्ति योजनाको पहिलो ठोस परिणाम भएको बताए।
सम्झौता अनुसार हमासले बन्धक बनाइएका २० जना जीवित इजरायलीलाई चरणबद्ध रूपमा मुक्त गर्नेछ, जसको सट्टामा इजरायलले २५० जना आजीवन कारावास भोगिरहेका र १,७०० अन्य प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ। यससँगै इजरायली सेना गाजाको अधिकांश क्षेत्रमा फिर्ता हुन थाल्ने अमेरिकी पक्षले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “भगवानको कृपाले हामी सबैलाई घर ल्याउनेछौं।”
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त सहमतिको स्वागत गर्दै भनिन्, “संयुक्त राष्ट्रसङ्घले सम्झौताको पूर्ण कार्यान्वयनमा सहयोग गर्नेछ र गाजाको पुनर्निर्माण, राहत तथा पुनर्स्थापनाका प्रयासलाई तीव्र बनाउनेछ।” उहाँले यस अवसरले दिगो राजनीतिक समाधानतर्फको बाटो खोल्ने, प्यालेस्टिनी जनताको आत्मनिर्णय अधिकारको सम्मान गर्ने र इजरायली तथा प्यालेस्टिनी दुवै जनतालाई शान्ति र सुरक्षामा बस्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
जापानका मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले पनि सहमतिको स्वागत गर्दै यसलाई “दुई–राज्य समाधानतर्फको महत्त्वपूर्ण कूटनीतिक कदम” भनेका छन्। यस्तै, क्यानडा, अर्जेन्टिना, मलेसिया, अस्ट्रेलिया र न्यूज़िल्यान्डका शीर्ष नेताहरूले पनि युद्धविरामलाई विश्व शान्तिको दिशामा ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
गाजाका विस्थापित नागरिक समीर जुदेहका अनुसार, “दुई वर्षसम्म हामी बम, भय र मृत्युबीच बाँच्यौं। आज शान्तिको खबर सुन्दा खुसीका आँसु रोक्न सकिन।”
दुई वर्षअघि २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरी १,२१९ नागरिकको हत्या गरेको थियो। त्यसपछि इजरायलले व्यापक सैन्य प्रतिकार सुरु गर्दा युद्धले चरम मानवीय संकट निम्त्यायो। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६७ हजार १८३ प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। एक लाखभन्दा बढी घाइते भएका छन्।
इजरायलको सरकारी तथ्यांकअनुसार, युद्धको क्रममा २५१ जना इजरायली नागरिकलाई बन्धक बनाइएको थियो, जसमा ४७ जना अझै मुक्त भएका छैनन्। तीमध्ये २५ जनाको मृत्यु भइसकेको बताइएको छ।
यो युद्धमा १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाए—कैलाली, बझाङ, डोटी, दार्चुला, सल्यान, धनुषा र सुनसरीका विभिन्न जिल्लाका युवा समावेश थिए। कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरी गाजामा लगेका थिए, जसको अवस्था अझै अज्ञात छ। इजरायलमा हाल करिब पाँच हजार नेपाली कार्यरत छन्।
दुई वर्षको लगातार रक्तपातपछि आएको यो युद्धविरामलाई विश्व समुदायले “गाजाको इतिहासमा शान्तिको सम्भावना पुनर्जीवित गर्ने अवसर” का रूपमा हेरेको छ। तर स्थायी शान्तिका लागि दुवै पक्षले प्रतिबद्धता र विश्वास निर्माणमा कति दृढता देखाउँछन् भन्ने प्रश्न अझै खुला छ।