गृहसचिव रामेश्वर दंगालद्वारा सशस्त्र प्रहरी बलको निरीक्षण!

गृहसचिव रामेश्वर दंगालले असोज २४ गते सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयमा निरीक्षण भ्रमण गर्दै हालको सुरक्षास्थिति, आन्दोलन व्यवस्थापन र आगामी निर्वाचन तयारीबारे प्रत्यक्ष जानकारी लिएका छन्।
निरीक्षणका क्रममा सचिव दंगालले हालैको जेन–जेड आन्दोलनमा निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले सशस्त्र प्रहरी बललाई सीमित स्रोत साधनका बाबजुद पनि जनताको जीवन र सम्पत्ति जोगाउन अग्रपंक्तिमा काम गरेको निकायका रूपमा प्रशंसा गरे।
उनका अनुसार, “हामीले गर्ने दैनिक कार्यमा सोच, विचार र व्यवहार समयअनुसार रूपान्तरण गर्न सके मात्र जस्तोसुकै चुनौतीमा पनि सफलता प्राप्त हुन्छ।” उनले बललाई विपद् व्यवस्थापन, आन्तरिक शान्ति सुरक्षा, सीमा निगरानी र राजस्व चुहावट नियन्त्रणमा अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे।
सचिव दंगालले सशस्त्र प्रहरीले अवलम्बन गरेको BIRD (Balanced, Integrated, Responsive, Dynamic) अवधारणालाई “सुरक्षा र विपद् व्यवस्थापनमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत दिशा” भनेर वर्णन गर्दै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अग्रिम सुरक्षा योजना बनाउन निर्देशन दिएका छन्।
उनले मन्त्रालयले सशस्त्र प्रहरी बललाई थप जनशक्ति, भिड नियन्त्रण उपकरण र सीमा सुरक्षाका साधनहरू उपलब्ध गराउँदै संगठनलाई अझ मजबुत बनाउने योजनामा रहेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन “राज्य र नागरिक दुवैप्रति समान उत्तरदायित्वसहित अनुशासित, निष्ठावान र कर्तव्यपरायण रूपमा कार्यरत रहेको” बताए। उनका अनुसार, शान्तिको अवधारणा सधैं स्थायी हुँदैन, र सुरक्षाबलको वास्तविक परीक्षा असामान्य र चुनौतीपूर्ण परिस्थितिमा निडरता र सुझबुझका साथ काम गर्न सक्ने क्षमताले मापन हुन्छ।
महानिरीक्षक अर्यालले आन्दोलन व्यवस्थापन र निर्वाचन सुरक्षालाई लक्षित गर्दै हुल नियन्त्रण विशेष इकाइ विस्तार, बख्तरबन्द सवारी, वाटर क्यानन, र Non-Lethal तथा Less-Lethal हतियारको आपूर्तिमा गृह मन्त्रालयको सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले सीमाक्षेत्रमा थप Border Outposts (BOPs) स्थापना गर्न नीतिगत र बजेटीय सहयोगको माग पनि दोहोर्याए।
निरीक्षणका क्रममा सचिव दंगालले विपद् उद्धारमा प्रयोग हुने उपकरणहरूको अवलोकन गरे भने वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले संगठनको संरचना र कार्यक्षेत्रबारे विस्तृत प्रस्तुति दिए।
कार्यक्रम सशस्त्र प्रहरी संचार प्रणालीमार्फत देशभरका इकाइहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा गृह मन्त्रालयका अधिकारीहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू र विभिन्न तहका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।
सुरक्षा संयन्त्र सुदृढ गर्ने यी तयारीहरू राजनीतिक संक्रमण र जेन–जी आन्दोलनपछिको अस्थिर माहोलबीच देशव्यापी स्थायित्वका लागि राज्य संयन्त्र सक्रिय बन्दै गएको संकेतका रूपमा हेरिएको छ।