अक्टोबर १४ बाट Windows 10 असुरक्षित हुने! माइक्रोसफ्टले थप एक वर्षको ‘पेड अपडेट’ सुविधा घोषणा

काठमाडौं — करिब ४१ प्रतिशत पीसी प्रयोगकर्ताले अझै प्रयोग गरिरहेको Windows 10 अब आगामी अक्टोबर १४ (मंगलबार) देखि नियमित सुरक्षा अपडेट पाउने छैन। माइक्रोसफ्टले यो दशक पुरानो अपरेटिङ सिस्टमका लागि आधिकारिक सुरक्षा समर्थन बन्द गर्ने घोषणा गरेको हो, जसपछि Windows 11 मा अपग्रेड गर्न नसक्ने उपकरणहरू ‘आउटडेटेड’ (असुरक्षित) मानिनेछन्।
तर प्रयोगकर्तालाई केही समयको राहतस्वरूप कम्पनीले “Extended Security Updates (ESU)” कार्यक्रममार्फत अक्टोबर १३, २०२६ सम्म थप एक वर्षका लागि सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा गरेको छ। माइक्रोसफ्टका अनुसार यो दीर्घकालीन समाधान होइन, बरु “सुरक्षाको अस्थायी पुल” हो, ताकि प्रयोगकर्ताले नयाँ संस्करणमा संक्रमणको तयारी गर्न सकून्।
यो कार्यक्रममा दर्ता गर्नको लागत ३० अमेरिकी डलर तोकिएको छ, तर युरोपेली प्रयोगकर्ताहरूका लागि यो निःशुल्क हुनेछ। युरोप बाहेकका प्रयोगकर्ताले भने Windows Backup प्रयोग गरेर OneDrive मा डेटा Sync गर्ने वा १,००० Microsoft Rewards Points प्रयोग गरी निःशुल्क रूपमा दर्ता गर्न सक्ने विकल्प पनि पाउनेछन्।
सुरक्षा विज्ञहरूका अनुसार Windows 10 का अपडेट रोकिँदा प्रयोगकर्ताको कम्प्युटर ह्याकर आक्रमण र डाटा चोरीको जोखिममा पर्ने सम्भावना उच्च रहनेछ। त्यसैले, समयमै अपग्रेड वा ESU कार्यक्रममा सहभागी हुन उनीहरूले सुझाव दिएका छन्।