दयशमशेर राणाको सुझाव: सभापति देउवाले कार्यवाहक तोकी महाधिवेशनको तयारी गर्नुपर्छ!

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यवाहक नेतृत्व तोक्ने सुझाव दिएका छन्। उनले हालको राजनीतिक परिदृश्य र देउवाको स्वास्थ्य अवस्था दुवैलाई ध्यानमा राख्दै पार्टीको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्यवाहक तोक्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।
राणाले आफ्नो भनाइ सार्वजनिक गर्दै भने, “पार्टीलाई एक ढिक्का राख्न अहिले नेतृत्वले लचकता देखाउनुपर्छ। महाधिवेशन र नेतृत्व हस्तान्तरणको माग जोडका साथ उठिरहेको बेला कार्यवाहकको जिम्मेवारी दिनु नै उचित विकल्प हो।” उनले पार्टीभित्र विभाजनको सम्भावना टार्न व्यावहारिक समाधानका रूपमा कार्यवाहक नेतृत्व प्रभावकारी हुन सक्ने बताएका छन्।
उनको यो अभिव्यक्ति नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति निर्धारण र नेतृत्व परिवर्तनका विषयमा चलिरहेको बहसबीच आएको हो। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन्, जसले देउवामाथि नयाँ निर्णयको दबाब थपेको छ। संस्थापन समूहभित्रका कतिपय नेताहरू देउवाले कार्यवाहक तोक्न नहुने पक्षमा रहे पनि राणाले सो धारणा विपरीत ‘संक्रमणकालीन व्यवस्थापनको जिम्मेवारी’ अब सहायक नेतृत्वले लिनुपर्ने तर्क गरेका छन्।
राणाले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई असमयिक भन्दै त्यसतर्फ पार्टी नलाग्न सुझाव दिएका छन्। उनका अनुसार, “सरकारले फागुनमा निर्वाचन मिति घोषणा गरिसकेको छ। अब कांग्रेसले पनि निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढ्नुपर्छ र सरकारलाई त्यसको वातावरण बनाउन दबाब दिनुपर्छ।”
भ्रष्टाचारविरुद्ध कठोर अभियान चलाउनुपर्ने आवश्यकता पनि उनले जोड दिएका छन्। “जेन–जेड आन्दोलनले उठाएको प्रमुख मुद्दा सुशासन र पारदर्शिता हो। कांग्रेसले यही एजेन्डा आत्मसात् गरेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्छ,” राणाले भने।
उनका अनुसार, राजनीतिक संक्रमणपछिको परिवर्तित वातावरणमा कांग्रेसले पुरानो ढर्रा त्यागेर सुधारमुखी र उत्तरदायी रूप लिन सके मात्रै पार्टी जनविश्वास पुनःस्थापित गर्न सक्षम हुनेछ। पार्टीभित्रको नेतृत्व विवादले अस्थिरता बढाइरहेका बेला राणाको यो सुझाव देउवा नेतृत्वको आगामी निर्णयका लागि महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।