प्रविधि

मेटाले ए.आई. सुपरइण्टेलिजेन्स ल्याब्सबाट ६०० कर्मचारी हटायो

मेटाले ए.आई. सुपरइण्टेलिजेन्स ल्याब्सबाट ६०० कर्मचारी हटायो

काठमाडौं — प्रविधि कम्पनी मेटाले आफ्ना कृत्रिम बुद्धिमत्ता (ए.आई.) सम्बन्धी सुपरइण्टेलिजेन्स ल्याब्सबाट करिब ६०० कर्मचारीलाई हटाएको छ। बुधबार कम्पनीका कार्यकारी अधिकारीले पठाएको आन्तरिक विज्ञप्ति उद्धृत गर्दै न्यूयोर्क टाइम्सले यो जानकारी सार्वजनिक गरेको हो।

यो कटौती मेटाको “सुपरइण्टेलिजेन्स ल्याब्स” भित्र गरिएको हो, जहाँ करिब ३,००० जना कर्मचारी कार्यरत छन्। कम्पनीका सीईओ मार्क जुकरबर्गले पछिल्ला वर्षहरूमा ए.आई. अनुसन्धानमा ठूलो लगानी गर्दै शीर्ष अनुसन्धानकर्ताहरू भर्ना गरिरहेका छन्। तर, हालको कटौतीले ती नयाँ भर्ना प्रभावित पारेको छैन।

नयाँ ए.आई. प्रमुख एलेक्जान्दर वाङले कर्मचारीलाई पठाएको नोटमा भनेका छन्, “हाम्रो टोली सानो हुँदा निर्णय लिन कम व्यक्ति आवश्यक हुन्छ र हरेक सदस्यको जिम्मेवारी र प्रभाव क्षेत्र बढ्छ।”

जानकार स्रोतका अनुसार, मेटाको यो कदम अघिल्ला तीन वर्षमा अत्यधिक तीव्र दरमा गरिएको भर्ना सुधार्ने उद्देश्यले लिइएको हो। कम्पनीले दक्षता बढाउँदै ए.आई. उत्पाद छिटो विकास गर्ने रणनीति अपनाएको बताइएको छ।

ए.आई. बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ, विशेषगरी ओपनएआई, गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले ए.आई. चैटबोट र उत्पाद विकासमा आक्रामक गतिमा लगानी बढाइरहेका छन्। मेटाले सुरुमा खुला-स्रोत मोडेल ‘लामा’ सार्वजनिक गरे पनि पछिल्लो एक वर्षमा त्यसको प्रगति सुस्त देखिएको छ।

गत जुनमा जुकरबर्गले ए.आई. स्टार्टअप स्केलएआईमा १४.३ अर्ब डलर लगानी गरेका थिए, जसका सह-संस्थापक नै अहिलेका मेटाका ए.आई. प्रमुख वाङ हुन्। त्यसपछि उनले गुगल र ओपनएआईका अनुसन्धानकर्ताहरूसहित उच्चस्तरीय कर्मचारीहरू मेटामा ल्याएका थिए।

तर, बुधवारको कटौतीले मेटाका केही ए.आई. अनुसन्धान, उत्पादन र पूर्वाधार समूहहरूलाई असर गरेको बताइएको छ। सुपरइण्टेलिजेन्स (TBD) समूह भने प्रभावित भएको छैन, जसले मेटाका ठूला भाषा मोडेल र चैटबोटहरू सञ्चालन गर्छ।

मेटाले जारी गरेको विज्ञप्तामा भनिएको छ, “हाम्रो ए.आई. प्रयास घटेको होइन; सुपरइण्टेलिजेन्स अझै कम्पनीको शीर्ष प्राथमिकतामध्ये एक हो।”

प्रतिस्पर्धा बढ्दै गएसँगै मेटाले आगामी वर्षदेखि आफ्नो म्यासेजिङ एप व्हाट्सएप मा ओपनएआईको ChatGPT जस्ता गैर-मेटा चैटबोटहरूको पहुँच बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले यो कदम अन्य कम्पनीहरूले व्यापारिक सुविधा सीमाभन्दा बाहिर प्रयोग गरेको कारण भन्दै स्पष्ट गरेको छ, तर ओपनएआईले सो दाबी अस्वीकार गरेको छ।