मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै!

मिथिलाञ्चल आज धार्मिक उल्लास र सांस्कृतिक आस्थामा डुबेको छ। असोज महिनाको पूर्णिमाको रात, जसलाई ‘कोजाग्रत पूर्णिमा’ भनिन्छ, मिथिलावासीका लागि वर्षको एक विशेष अवसर हो। आजकै दिन महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा शताब्दीय परम्पराअनुसार कोसेली (भार) पठाउने परम्परा निरन्तरता दिइएको छ।
जानकी मन्दिरका महन्त राम तपेश्वर दासका अनुसार रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्षअघि माता सीतालाई ‘छोरी’ मानेर कोजाग्रत पूर्णिमाको अवसरमा मन्दिरमा कोसेली पठाउने परम्परा सुरु गरेका थिए। त्यसपछि उनको वंशजहरूले यो चलन निरन्तर कायम राख्दै आएका छन्। यस वर्ष पनि ठाकुर परिवारका तीन घरबाट दही–च्यूरा, फलफूल, पान, मखान, मिठाई र लत्ताकपडा सहितको कोसेली मन्दिरमा पठाइएको छ, जसलाई आजको पूजामा प्रसादका रूपमा चढाइनेछ।
कोजाग्रत पूर्णिमालाई दशैं सकिने रातका रूपमा पनि चिनिन्छ। मिथिलामा यो दिन बेहुली पक्षले बेहुलाको घरमा भार पठाउने दिनको रूपमा विशेष अर्थ राख्छ। धार्मिक ग्रन्थअनुसार, त्रेता युगमा भगवान् श्रीकृष्णले यसै दिन रासलीला गरेका थिए र यो रात चन्द्रमाले चकोर पक्षीमाथि अमृत वर्षा गर्ने रात मानिन्छ।
जनकपुरधाममा आज माता जानकीको विशेष पूजाअर्चना, नाचगान र रातभरको भजनकीर्तन आयोजना गरिएको छ। मन्दिर परिसरमा रतौलीबाट आएको कोसेली चढाइने र त्यसपछि भक्तजनहरूमा प्रसाद वितरण गरिने तयारी छ।
मिथिलावासीहरू आजको रातलाई जाग्रामको रातका रूपमा मनाउँछन्। उनीहरू मखान, चामल र दूधबाट बनेको खीर छतमा राखी बिहान प्रसादका रूपमा ग्रहण गर्छन्। स्थानीयहरूले विश्वास गर्छन्—यो रात जाग्राम बसेर भगवान लक्ष्मीको आराधना गर्नेले घरमा धन–धान्यको अभाव हुँदैन।
पुस्तौँदेखि चल्दै आएको यो परम्पराले मिथिलाको सांस्कृतिक निरन्तरता मात्र होइन, धार्मिक समर्पण र पारिवारिक भावनाको जीवित उदाहरण पनि बनेको छ—जहाँ आस्था, परम्परा र प्रेम एकैसाथ अटल रूपमा जोडिएका छन्।