समाचार

एक घण्टामा बन्छ भनेका अध्यक्ष तीन दिनमै हराए! हुलाकी सडक अझै खाडलमै!

एक घण्टामा बन्छ भनेका अध्यक्ष तीन दिनमै हराए! हुलाकी सडक अझै खाडलमै!

अविरल वर्षापछि आएको बाढीले भत्किएको कौडेना गाउँपालिकाको हुलाकी सडक तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासी अझै सास्तीमा छन्। शनिबार राति परेको भारी वर्षाले सडकको झन्डै १५ मिटर भाग बगाएको र करिब १० फिट गहिरो खाडल बनेपछि पैदल र सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।

स्थानीय युवाहरूले सोमबारदेखि बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन केही हदसम्म सहज बनाउने प्रयास गरेका छन्। हाल त्यही लच्काबाट पैदलयात्रु, साइकल र मोटरसाइकल मात्रै पार हुन सक्छन्। तर स्थानीयका अनुसार यात्रु र चालकहरूबाट शुल्क असुल्ने प्रथा सुरु भएको छ — पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट सय रुपैयाँसम्म लिइँदै आएको उनीहरूको दाबी छ।

हुलाकी सडक भत्किएपछि सदरमुकाम मलंगवा र भारत सीमावर्ती बस्तीहरूसँगको सम्पर्क विच्छेद भएको छ, जसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीहरूलाई ठूलाे असुविधा पुर्‍याएको छ। स्थानीय व्यवसायीहरूको भनाइमा, सडक अवरुद्ध भएपछि खाद्यान्न, पेट्रोलियम र अन्य उपभोग्य वस्तु आपूर्तिमा समेत असर परेको छ।

गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले भने जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग निरन्तर समन्वय भइरहेको दाबी गर्दै तत्काल आवागमन सञ्चालनको प्रयास भइरहेको बताए। उनले भने, “स्थायी पुनर्निर्माणका लागि पहल भइसकेको छ, प्रशासनको निर्णय आउनासाथ मर्मत सुरु हुनेछ।”

सोमबार अध्यक्ष यादव, प्रदेशसभा सदस्य तथा पूर्वयातायात मन्त्री कौशल किशोर रायलगायतका जनप्रतिनिधिले क्षतिग्रस्त सडकको अनुगमन गरेका थिए। अनुगमनका क्रममा अध्यक्ष यादवले “यदि प्रशासनले ढिलाइ गर्‍यो भने म आफैं एक घण्टामै सडक बनाउन तयार छु” भनेर वाचा गरेका थिए। तर तीन दिन बित्दा पनि मर्मत सुरु नभएपछि स्थानीयले नेताहरूको प्रतिबद्धतामाथि प्रश्न उठाउन थालेका छन्।

अब सडक मर्मत र पुनर्निर्माण कति शीघ्र हुन्छ भन्ने स्थानीयको उत्सुकता र प्रशासनको गतिमा निर्भर छ—किनकि यही बाटो हजारौं जनताको दैनिकीसँग प्रत्यक्षरूपमा जोडिएको छ।