ऊर्जामन्त्री कुलमान घिसिङद्वारा विद्युत् भार प्रेषण केन्द्रको अनुगमन!

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार साँझ स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्र पुगेर देशको विद्युत् आपूर्ति प्रणालीको प्रत्यक्ष अनुगमन गरेका छन्। उनले उत्पादनदेखि प्रसारण र वितरणसम्मको सम्पूर्ण ग्रिड प्रणाली, विद्युत् माग–आपूर्ति सन्तुलन, र बाढी–पहिरोले प्रभावित संरचनाको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।
पूर्वकार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले पछिल्लो समय देशभर छिनछिनमा बत्ती जाने गुनासो बढेकोप्रति असन्तुष्टि जनाउँदै विद्युत् प्रणालीलाई भरपर्दो, सुरक्षित र आधुनिक बनाउन तत्काल र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधार आवश्यक रहेको टिप्पणी गरे। उनले मर्मतसम्भारमा ढिलाइ नगरी प्रभावित क्षेत्रमा तत्काल विद्युत् सेवा सुचारु गर्न निर्देशन दिँदै, “जनताले अनुभूत गर्ने सुधार अब नतिजामै देखिनुपर्छ,” भनेका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले मन्त्रीलाई प्रणाली सञ्चालन, विद्युत् उत्पादन, आपूर्ति, निर्यात र चुनौतीबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। सिलवालका अनुसार बाढी र पहिरोले क्षति पुर्याएका संरचना मर्मतका लागि टोलीहरू तयारी अवस्थामा छन् र काम तीव्र गतिमा भइरहेको छ।
घिसिङले आगामी हिउँदमा माग बढ्ने सम्भावना ध्यानमा राखी मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राख्न निर्देशन दिए। साथै, सबै विद्युतगृह, सबस्टेशन र ग्रिड लाइनहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आदेश दिए।
प्राधिकरणका अनुसार हाल नेपालले आन्तरिक खपत बाहेक दैनिक औसतमा एक हजार मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। यस आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ। भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड र रियल टाइम मार्केटमार्फत हरियाणा र बिहारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री भइरहेको छ भने भारतको प्रसारण सञ्जाल प्रयोग गरी बंगलादेशमा दैनिक ४० मेगावाट पठाइँदै आएको छ।
नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेश मिलाएर कुल ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ। यस व्यापारबाट भारततर्फ भारतीय रुपैयाँ र बंगलादेशतर्फ अमेरिकी डलरमा आम्दानी भइरहेको छ।
देशभित्र माग क्रमशः बढ्दै गइरहेको र अन्तर्राष्ट्रिय बजारमा नेपाली विद्युत् प्रतिस्पर्धी बन्दै गइरहेको अवस्थाले आगामी वर्षहरूमा ऊर्जा क्षेत्र स्वावलम्बी मात्र होइन, वैदेशिक मुद्राको स्थायी स्रोत बन्न सक्ने संकेत देखिएको छ।