जेन–जीको ठुलो कदम: अख्तियार प्रमुख प्रेमकुमार राईलाई राजीनामाको अल्टिमेटम!

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वप्रति उठेको अविश्वासबीच जेन–जी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै औपचारिक रूपमा दबाब सुरु गरेको छ। मंगलबार अलायन्सका प्रतिनिधिहरू आयोगको टङ्गालस्थित कार्यालय पुगेर राजीनामा मागसहितको निवेदन दर्ता गरेका छन्।
अलायन्सका अनुसार राई वाइडबडी विमान खरिद प्रकरणलगायतका विवादास्पद मुद्दामा मुछिँदै आएका र उनको नेतृत्वमा अख्तियारको निष्पक्षता र विश्वसनीयता प्रश्नमा परेको भन्दै राजीनामाको माग गरिएको हो। अलायन्सका संयोजकहरूले भने, “भ्रष्टाचारविरुद्धको लडाइँमा जनविश्वास नै सबभन्दा ठूलो पूँजी हो, तर अहिलेको नेतृत्वले त्यो पूँजी गुमाइसकेको छ।”
जेन–जी मुभमेन्ट अलायन्सले यसअघि पनि राईलाई राजीनामाको दबाबसहित इमेल पठाएको थियो। अलायन्सका सदस्यहरूले संसद् नहुँदा संवैधानिक रूपमा महाभियोग सम्भव नभएकाले नैतिक जिम्मेवारीका आधारमा पद छोड्नुपर्ने तर्क गरेका छन्।
उनीहरूले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता, पारदर्शिता र असंलग्नताको आधारमा नयाँ प्रमुख आयुक्त चयन गर्न सुझाव दिएका छन्। अलायन्सका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, “अख्तियारको साख पुनःस्थापित गर्न जनताको विश्वास जित्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ, अन्यथा हामी चरणबद्ध आन्दोलनमा जानेछौं।”
विगत केही महिनायता जेन–जी समूहले भ्रष्टाचार, असमानता र राजनीतिक दण्डहीनताविरुद्ध निरन्तर दबाब दिँदै आएको छ। अख्तियार प्रमुखको राजीनामा माग अभियानलाई पनि सोही श्रृंखलाको नयाँ चरणका रूपमा लिइएको छ।
अख्तियारको निष्पक्षता र नैतिक विश्वसनीयताबारे पुनः प्रश्न उठिरहेका बेला यो अभियानले देशको सुशासन र जवाफदेहिता प्रति युवापुस्ताको असन्तोषलाई फेरि उजागर गरेको छ—संवेदनशील घडीमा जनविश्वास पुनःस्थापना गर्ने जिम्मा अब अख्तियारकै काँधमा छ।