समाचार

विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम!

विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम!

विश्व हुलाक दिवसको १५१औँ वार्षिकोत्सवको अवसरमा बाजुरामा देउडा कार्यक्रम आयोजना गरिने भएको छ। हुलाक सेवाको महत्व र यसको ग्रामीण प्रभावकारिताबारे जनचेतना फैलाउने उद्देश्यसहित हुलाक कार्यालय बाजुराले असोज २२ गते बिहान ९ बजेबाट खुला देउडा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

हुलाक कार्यालयका प्रमुख उत्तम बमका अनुसार यस वर्षको नारो “मानिसहरूका लागि पोस्ट—स्थानीय सेवा, विश्वव्यापी पहुँच” तय गरिएको छ। उनले भने, “हुलाक सेवा केवल पत्र र पार्सल पठाउने माध्यम होइन, यो समुदायलाई जोड्ने भरोसाको सञ्जाल हो। देउडामार्फत यही सन्देश जनस्तरसम्म पुर्‍याउने हाम्रो प्रयास हो।”

कार्यक्रममा सहभागी हुन चाहने समूहहरूले असोज २० देखि २२ गते बिहान ८ बजेसम्म कार्यालयमा टिम दर्ता गराउन सक्नेछन्। प्रत्येक समूहमा कम्तीमा १२ जना सदस्य रहनेछन्, र सहभागीहरूबाट कुनै शुल्क लिइने छैन। देउडामा सवाल–जवाफ, भेषभूषा र प्रस्तुतिको मौलिकता आधारमा मुल्याङ्कन गरिनेछ।

हुलाक कार्यालयका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। कार्यक्रम खुला मञ्चमा हुनेछ, जसमा स्थानीय सांस्कृतिक समूह, विद्यार्थी र समुदायका प्रतिनिधिहरूको सहभागीता रहनेछ।

देउडा परम्परा सुदूरपश्चिम र कर्णाली क्षेत्रको सांस्कृतिक पहिचान हो—जहाँ गाउँ, मेलापात र पर्वहरूमा सामूहिक रूपमा गोलघेरा बनाएर सवाल–जवाफ शैलीमा गीत गाइन्छ। हुलाक कार्यालयले यही लोकसंस्कृतिलाई प्रयोग गर्दै सरकारी सेवाप्रति विश्वास र पहुँचको सन्देश फैलाउने प्रयास गरेको हो।

स्थानीय संस्कृतिको माध्यमबाट संस्थागत सन्देश प्रवाह गर्ने यस्तो पहलले सरकारी सेवा र जनसम्पर्कबीचको दूरी घटाउने अपेक्षा गरिएको छ—जहाँ परम्परा र प्रशासन एउटै स्वरमा गुञ्जिन थालेका छन्।