कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत इलाममा पहिलो चरणको राहत पठायो!

लगातारको वर्षापछि ठूलाे जनधन क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले पहिलो चरणको राहत सामाग्री हवाईमार्गबाट पठाएको छ। स्थलमार्ग बाढी र पहिरोले पूर्ण रूपमा अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी बिहानै इलामका प्रभावित क्षेत्रहरूमा खाद्यान्न र अत्यावश्यक सामग्री पुर्याइएको हो।
प्रदेश सरकारका अनुसार यो पहिलो चरणको राहत हो, जसअन्तर्गत चामल, दाल, आलु, तेल, नुन, बेसार, सिरानी, ब्ल्याङ्केट, म्याट्रेस र त्रिपालजस्ता सामग्रीहरू माङ्सेबुङ र सदरमुकाम इलामसहितका बस्तीहरूमा वितरण गरिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले हवाईमार्ग बाहेक अन्य विकल्प नभएकाले उद्धार तथा राहत ढिलाइ हुन नदिन हेलिकप्टरमार्फत वितरण गरिएको बताए। उनका शब्दमा, “पहिलो चरणको राहत इलाम पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ।”
मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी बनाउन प्रदेश सरकार पूर्ण रूपमा संलग्न रहेको बताएका छन्। उनले तत्काल उद्धार र बसोबासका लागि आपतकालीन सहयोग प्राथमिकता भएको र दीर्घकालीन पुनःस्थापनाका लागि कार्ययोजना तयारी भइरहेको बताए।
असोज १७ र १८ गतेको अविरल वर्षाले इलामका सूर्योदय, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई र फाकफोकथुम लगायतका स्थानीय तहहरूमा बाढी र पहिरोको विनाशकारी असर पारेको थियो। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म ३८ जनाले ज्यान गुमाएका छन्, जबकि सयौं परिवार विस्थापित भएका छन्।
प्रदेश सरकारले इलामलाई “उच्च प्राथमिकता क्षेत्र” घोषणा गर्दै तत्कालीन राहत र पुनःस्थापनाको संयोजनमा दीर्घकालीन योजना ल्याउने तयारी गरेको छ। पहिरोले सडक सञ्जाल, बिजुली र सञ्चार संरचना समेत क्षतिग्रस्त बनाएको कारण स्थानीय प्रशासनले उद्धारलाई चुनौतीपूर्ण बताएको छ।
मानवीय संकटबीच हेलिकप्टरमार्फत पुगेको राहतले असहाय बनेका पीडित परिवारमा केही आशाको किरण जगाएको छ—तर बस्ती पुनःस्थापनासम्मको बाटो अझै कठिन र लामो देखिन्छ।