समाचार

मुख्यमन्त्री कार्की स्वयम् इलाममा! पहिरोपीडितका घरमै पुगेर दिए तत्काल राहतको आदेश

मुख्यमन्त्री कार्की स्वयम् इलाममा! पहिरोपीडितका घरमै पुगेर दिए तत्काल राहतको आदेश

लगातारको वर्षा र पहिरोले प्रभावित इलाम, मोरङ र झापा जिल्लामा कोशी प्रदेश सरकारले निरन्तर राहत पठाइरहेको छ। सवारीसाधन पुग्ने ठाउँहरूमा ट्रकमार्फत राहत वितरण जारी छ भने दुर्गम र अवरुद्ध क्षेत्रमा हवाई मार्ग प्रयोग गर्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की स्वयं इलाम पुगेका छन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिसँग भेट गरी खोज तथा उद्धार, राहत वितरण र सडक सञ्जाल पुनः सञ्चालनका विषयमा विस्तृत समीक्षा गरेका छन्। इलामस्थित सुरक्षा निकाय, स्थानीय प्रशासन र प्राविधिक समूहसँग संयुक्त बैठक गरी उनले राहत कार्यलाई समन्वित र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्कीले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “प्रदेश सरकारको सामर्थ्यले भ्याएसम्म सबै प्रभावित क्षेत्रमा राहत पुर्‍याउने काम अविच्छिन्न रूपमा जारी रहनेछ।” उनका अनुसार प्राथमिकताका रूपमा पहिरोले विस्थापित परिवारहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधि र अस्थायी बसोबासका सामग्रीहरू पठाइएका छन्।

प्रदेश सरकारले पहिल्यैदेखि मोरङ, झापा र इलामका उच्च जोखिम क्षेत्रहरूलाई राहत तथा पुनःस्थापनाका लागि प्राथमिकता सूचीमा राखेको छ। कार्कीको सचिवालयका अनुसार केही स्थानमा सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत उद्धार र आपतकालीन सामग्री ढुवानीको तयारी पनि भइरहेको छ।

गत असोज १७ र १८ गतेको अविरल वर्षा र त्यसपछि आएको पहिरोले इलाम र वरिपरिका क्षेत्रमा ठूलो जनधन क्षति पु-याएको थियो। कार्कीको स्थलगत उपस्थितिलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले “संयोजन र मनोबल अभिवृद्धि गर्ने कदम”का रूपमा लिएका छन्।

प्रदेश सरकारका अधिकारीहरूले राहत मात्र होइन, आगामी समयका लागि दिगो पुनःस्थापनाको योजनासमेत तयार पार्न थालिएको बताएका छन्—किनकि पहाडी भेगमा पुनः यस्तो विपद् दोहोरिन नदिन पूर्वतयारी नै सबभन्दा स्थायी उपाय मानिएको छ।