महेश बस्नेतको आरोप: बालेन–सुदन विदेशी दलाल, अपराध उनीहरूबाटै सुरु भयो!

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरका प्रमुख बालेन शाह, ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङसहितको समूहमाथि ‘विदेशी दलाल’ भएको गम्भीर आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ती समूहहरूलाई आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै “कारबाही उनीहरूबाटै सुरु हुनुपर्छ” भनेका हुन् ।
बस्नेतका अनुसार हालैको जेन–जी आन्दोलन र त्यसपछि भएको हिंसात्मक घटनामा विदेशी स्वार्थको संलग्नता छ, जसमा बालेन र सुदनको टोली अग्रपंक्तिमा रहेको उनको दाबी छ । उनले भने, “यी बालेन र सुदनका टिमहरू विदेशी दलाल हुन्, अपराधको सुरुवात उनीहरूबाट नै भएको हो।”
पत्रकार सम्मेलनमा बस्नेतले हालै प्रतिनिधिसभा विघटनबारे पनि एमालेको आधिकारिक धारणा छिट्टै सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार पार्टीले संसद विघटन वैधानिक कि अवैधानिक भन्ने विषयमा अन्तिम छलफल गरिरहेको छ । “संसद पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालत जाने तयारीमा छौं,” उनले भने, “पार्टीले औपचारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत भन्ने निर्णय अन्तिम चरणमा छ।”
बस्नेतले जेन–जी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी भएको दाबी गर्दै त्यसमा रास्वपाका कार्यकर्ताहरू संलग्न रहेको आरोप पनि लगाए । “हाम्रो घर जलाउन रास्वपाका कार्यकर्ता आएका थिए, ती सबैको विवरण हामीसँग छ,” उनले भने ।
उनले आन्दोलनका प्रारम्भिक चरणमा जेन–जी समूहले भ्रष्टाचार र ‘नेपो बेबी’ संस्कृति विरुद्ध शान्तिपूर्ण अभियान चलाएको स्वीकार गरे । तर आन्दोलनपछि ‘घुसपैठ’ भएकाले आन्दोलनको स्वरूप हिंसात्मक भएको उनको दाबी छ । “शुरूमा जेन–जीले सुधारको माग गरेका थिए, तर चार घण्टामै देशलाई ध्वस्त पार्ने समूहले नियन्त्रण लिएपछि उनीहरू पछि हटे,” उनले भने ।
बस्नेतले बालेन शाहले आन्दोलन उत्कर्षमा पुगेपछि आफ्ना सहयोगीहरूलाई साथ नदिएको आरोप पनि लगाए । “जब आन्दोलन ठूलो भयो, बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा फ्याँकियो,” उनले टिप्पणी गरे, “त्यसैले अहिले हर्क साम्पाङ धरानदेखि कराइरहेका छन्।”
एमालेभित्र बस्नेतको यो टिप्पणी पार्टीको आधिकारिक धारणा होइन तर आन्दोलन र नेतृत्वबीचको सम्बन्धबारे बहसलाई पुनः तातेको छ । राजनीतिक स्थिरता र युवाहरूको असन्तुष्टिको घेरा अझ गहिरिँदै जाँदा, नेताहरूको परस्पर आरोपले निकासभन्दा अविश्वासको वातावरण अझ विस्तार गरेको देखिन्छ ।