समाचार

धनुषामा धार्मिक तनाव बढ्दै: एसपीको राजीनामा माग्दै जनकपुरमा धर्ना!

धनुषामा धार्मिक तनाव बढ्दै: एसपीको राजीनामा माग्दै जनकपुरमा धर्ना!

धनुषाका प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाममा बुधबार स्थानीयवासीले विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन्। रुपेठा क्षेत्रका हिन्दू समुदायका पुरुष र महिलाहरू जनक चोकमा भेला भएर “एसपी राजीनामा दे”, “हिन्दूहरूलाई फसाउन पाइँदैन”, “निहत्था युवालाई रिहा गर” लेखिएका प्लेकार्डसहित आक्रोश व्यक्त गरेका थिए।

यो आन्दोलन केही दिनअघि दुर्गा भगवतीको मूर्ति विसर्जनका क्रममा भएको साम्प्रदायिक झडपपछि तीव्र भएको हो। प्रहरीका अनुसार रुपेठामा मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो। त्यही क्रममा मुस्लिम समुदायका केही व्यक्तिले विसर्जनमा गएका सहभागीहरू माथि सिसाको बोतल र ढुंगामुढा प्रहार गरेको बताइन्छ। त्यसपछिका क्षणमा आक्रोशित भीडले मुस्लिम समुदायले निर्माण गरेको टहरामा आगजनी गरेको थियो।

स्थिति नियन्त्रणका लागि धनुषा प्रहरीले अश्रुग्यास प्रहार गरेको र केही स्थानीयलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ। तर, प्रदर्शनकारीहरूले पक्राउ परेकाहरू निर्दोष किशोर र युवाहरू भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन्। उनीहरूको भनाइमा, प्रशासनले एकपक्षीय कारबाही गर्दै हिन्दू समुदायलाई मात्र दोषी ठहर गरेको छ।

हिन्दूवादी संगठनका प्रतिनिधिहरूले जनकपुरधाममा निरन्तर प्रदर्शन गर्दै प्रहरी नेतृत्वमाथि पक्षपातपूर्ण व्यवहारको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दुवै समुदायका उग्र पक्षमाथि समान कारबाही गर्न माग गरेका छन्।

स्थानीय प्रशासनले भने घटनाको अनुसन्धान जारी रहेको र समुदायबीच पुनः शान्ति र सद्भाव कायम गर्न पहल भइरहेको जनाएको छ। धार्मिक पर्वका अवसरमा हुने यस्ता विवादले जनकपुरधामजस्ता सांस्कृतिक सहरमा साम्प्रदायिक सहअस्तित्वको मूल्यलाई चुनौती दिएको चिन्ता स्थानीयवासीले प्रकट गरेका छन्।