समाचार

गहनाको लोभले बालिकालाई मारें— बर्दियामा पक्राउ परे समिर तिरुवा!

गहनाको लोभले बालिकालाई मारें— बर्दियामा पक्राउ परे समिर तिरुवा!

बर्दियाको गेरुवा गाउँपालिकामा एक बालिकाको हत्या आरोपमा प्रहरीले २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको छ। गत असोज १७ गते बेपत्ता भएकी १० वर्षीया भारती (एन्जल) देउवा तीन दिनपछि मृत फेला परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार प्रारम्भिक अनुसन्धान र आरोपीको बयान दुवैबाट तिरुवाले बालिकाको हत्या गरेको पुष्टि भएको छ। प्रहरीका अनुसार उनले बालिकाले लगाएको सुनका गहनाको लोभमा अपराध गरेको स्वीकारेका छन्।

पौडेलका अनुसार तिरुवाले गेरुवा र राजापुरका विभिन्न सुन पसलमा गहना बेच्न खोजेका थिए, तर त्यहाँ नबिकेपछि कैलालीसम्म पुगेको खुलेको छ। उनले प्रहरीसमक्ष दिएको बयानअनुसार, साइकल डोर्याएर हिँडिरहेकी एन्जललाई समातेर झाडीमा लगेपछि घाँटी थिची हत्या गरेका थिए। त्यसपछि शव सडेर प्राकृतिक रूपमा मृत्यु भएको देखियोस् भन्ने उद्देश्यले नाङ्गै बनाएर बालुवामा पुरेको उनले स्वीकारेका छन्।

मृत्युपछि बलात्कार प्रयास गरेको पनि तिरुवाले बयान दिएका छन्, तर प्रहरीका अनुसार यो दाबीको पुष्टि पोस्टमार्टम प्रतिवेदनपछि मात्र हुनेछ। भेरी अस्पताल नेपालगञ्जमा बालिकाको शव परीक्षण सम्पन्न भइसकेको र रिपोर्टको पर्खाइमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक पौडेलले बताए।

प्रहरीका अनुसार घटनामा संलग्न हुनसक्ने भन्दै ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो, तर प्रमाणका आधारमा तिरुवामाथि मात्र मुद्दा दर्ता गरिएको हो। उनलाई आज बर्दिया अदालतमा पेश गरी पाँच दिनको म्याद थपिएको छ।

बालिकाको आमाले घटनापछि मंगलबार इलाका प्रहरी कार्यालय पाताभारमा औपचारिक उजुरी दर्ता गराएकी थिइन्। प्रहरी निरीक्षक मदनबहादुर गुरुङका अनुसार भारती असोज १७ गते दिउँसो आफन्तको विवाह समारोहमा गएकी थिइन् र घर फर्किने क्रममा बाटोमै हराएकी थिइन्। भोलिपल्ट बालिकाको साइकल गाउँकै बुढीखोलामा फेला परेको थियो।

स्थानीय समुदाय अहिले पनि स्तब्ध छ। सामान्य लोभले बालिकाको ज्यान जाने घटनाले गाउँमा डर र आक्रोश फैलिएको छ, भने प्रहरीले अनुसन्धान सकिएपछि कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ।