समाचार

कांग्रेस बैठकमा गहिरो बहस: मंसिरभित्रै महाधिवेशन!

कांग्रेस बैठकमा गहिरो बहस: मंसिरभित्रै महाधिवेशन!

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बिहीबार सुरु भई शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम पूरा नभएकाले बैठक स्थगित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

महतका अनुसार बैठकमा हालको राजनीतिक परिस्थितिले सिर्जना गरेको चुनौती, जेन–जी आन्दोलनपछिको अस्थिरता, र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल भइरहेको छ। उनले भने, “वर्तमान परिवेशमा पार्टीले देशलाई कसरी स्थिरता र जिम्मेवार राजनीतिक बाटोतर्फ लैजान सक्छ भन्ने विषयमा बहस भइरहेको छ।”

बैठकमा मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको प्रवक्ता महतले बताए। उनका शब्दमा, “पदाधिकारीहरूले समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने धारणा राखेका छन्, अब सम्पूर्ण विधि प्रक्रिया मंसिरभित्रै पूरा गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे छलफल जारी छ।”

महतले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे। उनका अनुसार कांग्रेसले नेता, व्यवसायी र सर्वसाधारणको निजी सम्पत्ति जलाउने, राष्ट्रिय सम्पदा क्षति पुर्‍याउने, र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

“नेताहरूको घर र किसुनजीको आश्रम जलाइएको छ, जुन लोकतान्त्रिक संस्कृतिमाथिको प्रत्यक्ष प्रहार हो,” महतले भने, “अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको छ, त्यसैले दोषी पहिचान गरी तत्काल कारबाही हुनुपर्छ।”

कांग्रेसले आन्दोलनका क्रममा गोली चलाउने घटनाको पनि छानबिन गर्नुपर्ने धारणा राखेको छ। महतले भने, “कसले गोली चलायो र किन चलायो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ। सरकार गम्भीर नभए संसद् पुनःस्थापनाको विकल्प खुला रहन्छ।”

बैठक शुक्रबार पुनः बस्नेछ, जहाँ पार्टी नेतृत्वले महाधिवेशनको समयतालिका, आगामी निर्वाचन तयारी, र वर्तमान अन्तरिम सरकारसँगको सम्बन्धबारे थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ। कांग्रेसभित्र हालको राजनीतिक संक्रमणमा आफ्नो भूमिकालाई स्पष्ट र निर्णायक बनाउने दबाब बढ्दै गएको छ, जसले शुक्रबारको बैठकलाई थप महत्वपूर्ण बनाएको छ।