अनेरास्ववियु महासचिव दीपक धामीले सम्पदा जलाउनेमाथि कारबाही नभए आन्दोलनको चेतावनी दिए!

नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा उक्साउने व्यक्तिहरूलाई जिम्मेवार ठहर गर्न सरकारलाई आग्रह गरे।
धामीले भने, “अरूको घर जलाउनेले त्यो आगो एक दिन आफ्नै घरमा आइपुग्छ भन्ने बुझ्नुपर्छ।” उनले आन्दोलनका वैध मागप्रति आफूहरू ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा, निजी सम्पत्ति र सार्वजनिक संस्थामाथि आक्रमण गर्ने प्रवृत्तिको कडा विरोध गरेको बताए। उनका अनुसार अनेरास्ववियुले यसअघि नै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता गराइसकेको छ र दोषी जो भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग दोहोर्याएका छन्।
धामीले विचार र राजनीतिक आस्थाका कारण मात्र कसैलाई अपराधी ठहर गर्नु गलत भएको टिप्पणी गर्दै भने, “म एमाले सदस्य हुँ, तर त्योभन्दा पहिला म देशको सचेत नागरिक हुँ। राजनीतिक आस्थाका आधारमा अपराधको मापदण्ड निर्धारण गर्नु समाजका लागि हानिकारक अभ्यास हो।”
उनले सामाजिक सञ्जालमा प्रमाणबिनै व्यक्तिहरूलाई दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। धामीका अनुसार भ्रष्टाचार वा अपराधमा दोषीलाई जोगाउने कुनै प्रयास स्वीकार्य हुन सक्दैन, र कानुनी प्रक्रिया निष्पक्ष ढंगले अघि बढ्नुपर्छ।
जेन–जी आन्दोलनपछि सरकारमा पुगेका केही व्यक्तिहरूले राज्य संयन्त्रलाई व्यक्तिगत प्रतिशोधका लागि प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले भने, “हामीले सोचेका थियौँ, जेन–जीले नै सुधारको नेतृत्व गर्छन् कि भनेर, तर अहिले विवादित व्यक्ति कुर्सीमा पुगेका छन् र उनीहरूले संयन्त्रको दुरुपयोग गरिरहेका छन्।”
त्यस क्रममा धामीले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङमाथि नक्कली बिलमार्फत विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई जनताको पीडामा निःशुल्क सेवा गरेर उदाहरण प्रस्तुत गर्न चुनौती दिए। उनले भने, “हामी भूकम्प, कोरोना र बाढीपहिरो जस्ता विपत्तिमा नि:शुल्क सेवा गरेका थियौं, सुधन गुरुङले पनि त्यसरी नै काम गर्नुपर्छ।”
धामीले सम्पदा जलाउनेहरूले अहिले देशका संवेदनशील तथ्याङ्क माग्न थालेको भन्दै आपत्ति जनाए र सामाजिक अराजकता रोक्न आफूहरू सडकमा आउन बाध्य भएको बताए। उनका अनुसार अनेरास्ववियुले बालेन शाह र सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालय र नजिकका प्रहरी कार्यालयमार्फत औपचारिक उजुरी दिने तयारी पनि गरिरहेको छ।
राजनीतिक वातावरण पुनः तनावपूर्ण बन्दै गएको अवस्थामा विद्यार्थी संगठनको यो चेतावनीले आन्दोलन र सत्ता नेतृत्वबीचको टकरावलाई अझ चर्काउने संकेत दिएको छ।