समाचार

ओली–माओवादी नजिकिँदा कांग्रेस त्रसित

ओली–माओवादी नजिकिँदा कांग्रेस त्रसित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसबीचको सत्ता साझेदारी झनै असहज बन्दै गएको छ। बाहिर सहकार्य देखिए पनि भित्री रूपमा कांग्रेस सभापति शेरबहादुर देउवाको हस्तक्षेपका कारण प्रधानमन्त्री ओली असन्तुष्ट भएको स्रोत बताउँछ।

ओलीलाई कांग्रेसकै असहयोग खट्कियो
एमाले अध्यक्ष ओलीले आफ्ना निकटका नेतासँग कांग्रेसकै कारण सरकार सञ्चालनमा कठिनाइ भइरहेको बताएका छन्। भूमिसम्बन्धी अध्यादेश कांग्रेसको सहमतिमा ल्याइए पनि संसद्मा पारित गराउने जिम्मेवारी कांग्रेसले उठाएको छैन। जसपाले उक्त अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेपछि एमालेले माओवादी केन्द्रसँग समेत सहकार्यको खोजी थालेको छ।

वाम गठबन्धनको चर्चा, कांग्रेस सशंकित
एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग टेलिफोन संवाद गरेपछि वाम ध्रुवीकरणको चर्चा चुलिएको छ। पोखरेलले सामाजिक सञ्जालमा ‘बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो’ भनेर लेखेपछि कांग्रेसमा थप त्रास बढेको छ।

गोप्य बैठकले थप रहस्य उघार्यो
महासचिव पोखरेल, सचिव रघुवीर महासेठ र माओवादी उपमहासचिव पुनबीच गोप्य भेटघाट भएको स्रोतको दाबी छ। छलफलमा अध्यादेश पारित गर्ने र वाम ध्रुवीकरणलाई कसरी अघि बढाउने भन्ने विषय उठेको बताइन्छ।

देउवा रुष्ट, सत्ता सहकार्य धरापमा?
कांग्रेस नेताहरू वाम ध्रुवीकरणको विषयमा खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रमेश लेखकले ओलीलाई ‘के तपाईं वाम ध्रुवीकरण गर्न खोज्दै हुनुहुन्छ?’ भनेर प्रश्न गर्दा बैठक अन्य विषयमा प्रवेश नै नगरी टुंगिएको थियो।

वर्तमान सत्ता गठबन्धन कतिञ्जेल टिक्ला? वाम ध्रुवीकरणले नयाँ समीकरण बनाउने हो? ओली र देउवाबीचको यो लुकेको लडाइँ कुन मोडमा पुग्छ? यसैबीच, सत्ता सन्तुलनको रस्साकस्सी अझै चर्कने संकेत देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन कांग्रेस सभापति शेरबहादुर देउवा