कभर स्टोरी

अमेरिका काण्ड: न मिति न तालिका, तैपनि मन्त्री गुप्ताको भ्रमण स्वीकृत !

अमेरिका जाने मन्त्रीको हतारो: कार्यक्रमको टुंगो नलाग्दै मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत

अमेरिका काण्ड: न मिति न तालिका, तैपनि मन्त्री गुप्ताको भ्रमण स्वीकृत !

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता कार्यक्रमको मिति र स्वरूप (मोडालिटी) नै तय नभएको अवस्थामा अमेरिका भ्रमणमा जान लागेको तथ्य बाहिर आएको छ। विवादित मानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निमन्त्रणामा हुन लागेको भनिएको उक्त भ्रमणको आधिकारिकतामै प्रश्न उठेको छ भने आयोजक स्वयम्‌ले पनि कार्यक्रमको तालिका निश्चित भइनसकेको स्वीकार गरेको छ।


अन्योलपूर्ण कार्यतालिका र आयोजकको स्वीकारोक्ति

मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ नामक कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको बताइएको छ। तर, विकास उप्रेती नेतृत्वको एनआरएनए अमेरिकाले बिहीबार विज्ञप्ति जारी गर्दै कार्यक्रमको विस्तृत विवरण र समय तालिका अझै तयार नभएको स्पष्ट पारेको छ। प्रवक्ता द्रोण गौतमद्वारा जारी विज्ञप्तिमा मन्त्रीको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने र राज्यलाई आर्थिक भार नपर्ने दाबी गरिएको छ। यद्यपि, विज्ञप्तिमा कार्यक्रम कहिले र कहाँ हुने भन्ने ठोस जानकारी दिइएको छैन, केवल ‘टेक्सासको डालसमा हुने’ भनिएको छ।

रोचक कुरा के छ भने, आयोजकले मिति तय नगर्दै मन्त्री गुप्ताले भने आगामी माघ ३ गते हुने कार्यक्रममा सहभागी हुने भन्दै मन्त्रिपरिषद्को बैठकबाट आफ्नो भ्रमण स्वीकृत गराइसकेका छन्। आयोजक संस्थाभित्रकै पदाधिकारीहरूका अनुसार मन्त्रीको समय अनुकुल हुने गरी कार्यक्रम तय गर्ने अनौपचारिक सहमति भए पनि आधिकारिक रूपमा मिति तोकिएको छैन। यसले मन्त्रीको भ्रमणलाई ढाकछोप गर्न मात्रै हतारमा विज्ञप्ति जारी गरिएको आशंका उब्जिएको छ।


सदाचार नीतिविपरीतको सरकारी भ्रमण

अन्तरिम सरकारका मन्त्रीको यो हतारो सरकारद्वारा हालै जारी गरिएको ‘सदाचार नीति’ विपरीत देखिएको छ। गत असोज ५ गते सार्वजनिक गरिएको उक्त नीतिमा राष्ट्रका लागि ‘अत्यावश्यक बाहेक’ विदेश भ्रमण नगर्ने उल्लेख छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूका अनुसार, अस्तित्व र तालिका नै यकिन नभएको कार्यक्रममा जानुलाई ‘अत्यावश्यक’ मान्न सकिँदैन।

सरकारी कर्मचारीहरूले कुनै औपचारिक सरकारी निमन्त्रणाविना र दुवै देशका आधिकारिक निकाय (दूतावास वा परराष्ट्र) को अभिलेखमा नभएको कार्यक्रममा मन्त्रीको हैसियतमा सहभागी हुनु गैरकानुनी र नैतिक रूपमा गलत भएको टिप्पणी गरेका छन्। विवादित छविका आयोजक र अपारदर्शी कार्यक्रमका कारण यो भ्रमणको औचित्य पुष्टि गर्न मन्त्रालयलाई सकस परेको देखिन्छ।


मानव तस्करीको आशंका र सुरक्षा सतर्कता

मन्त्रीको भ्रमण टोलीमा अन्य असम्बन्धित व्यक्तिहरू पनि अमेरिका जान सक्ने आशंकामा अध्यागमन विभागले उच्च सतर्कता अपनाएको छ। स्रोतका अनुसार, मन्त्री सहभागी हुने भनिएको कार्यक्रमको बहानामा मानव तस्करी हुन सक्ने जोखिम औंल्याउँदै अध्यागमन अधिकारीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ब्रिफिङ गरेका छन्। मन्त्रीको भ्रमण स्वीकृत भए पनि सहभागी हुने अन्य व्यक्तिहरूबारे सम्बन्धित निकायमा निगरानी बढाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत आफ्नो ध्यानाकर्षण भएको बताएकी छन्। विवादित पृष्ठभूमि र प्रक्रियागत त्रुटिका बीच हुन लागेको यो भ्रमणले सरकारको सुशासनको प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

बब्लु गुप्ता