"मोदीको अमेरिकामा भव्य आगमन! ट्रम्पसँग भेट, रणनीतिक साझेदारीबारे महत्त्वपूर्ण वार्ता"

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको आधिकारिक भ्रमणमा पुगेका छन्। बिहीबार बिहान वासिङ्टन डीसी आइपुगेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो उत्साह व्यक्त गर्दै लेखे, "केही समय अघि वासिङ्टन डीसी आइपुगेँ। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न उत्साहित छु।"
मोदीले भारत-अमेरिका सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, "हाम्रा दुई देशबीचको रणनीतिक साझेदारी अझ मजबुत बनाउने आशा छ। दुवै देश मिलेर उज्ज्वल भविष्य निर्माण गर्न अघि बढ्नेछौँ।"
ट्रम्पसँगको भेटअघि मोदीले अमेरिकी गुप्तचर विभाग (नेशनल इन्टेलिजेन्स) की प्रमुख तुलसी गबार्डसँग भेटघाट गरेका थिए। गबार्डलाई हालै अमेरिकी सिनेटले राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा अनुमोदन गरेको थियो।
मोदी-ट्रम्प वार्तामा व्यापार, लगानी, रक्षा, प्रविधि, ऊर्जा तथा आप्रवासनजस्ता महत्त्वपूर्ण मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। साथै, भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी विषयमा समेत गम्भीर छलफल हुने सम्भावना छ।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि विश्व नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन्। यस क्रममा मोदी उनको आतिथ्यता पाउने चौथो विश्व नेता बनेका छन्। यसअघि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू, जापानी प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग भेट गरिसकेका छन्।
मोदीको यो भ्रमणले भारत-अमेरिका सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदी-ट्रम्प वार्ता