रवि लामिछानेको दोहोरो नीतिः ‘‘मैयाँलाई काखा, भैयालाई पाखा’’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिमा नयाँ आशाका रूपमा उदाएको थियो। भ्रष्टाचारमुक्त राजनीतिका सपना देखाएर अगाडि बढेको पार्टी अहिले स्वयम विवादको भुमरीमा फस्दै गएको छ। यसको प्रमुख कारण सभापति रवि लामिछानेको अधिनायकवादी शैली, दोहोरो नीति, र व्यक्तिगत स्वार्थअनुरूप गरिने निर्णयहरू नै हुन् ।
रास्वपाका असल, इमानदार र योग्य नेताहरूलाई रविले निरन्तर दमन गर्दै गएका छन्, तर विवादास्पद पात्रलाई उनले प्रश्रय दिने गरेका छन्। यसको पछिल्लो उदाहरण हो—डा. मुकुल ढकालको निष्कासन, राजेश तिम्सिनाको निलम्बन, र अर्कोतर्फ, ज्वाला संग्रौलाजस्ता व्यक्तिहरूलाई संरक्षण।
रवि लामिछानेको विवादास्पद यात्राः दोहोरो नागरिकतादेखि सहकारी काण्डसम्म
रवि लामिछानेको राजनीतिक यात्रा विवादरहित छैन। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनले प्रारम्भिक चरणमै गृहमन्त्रीको जिम्मेवारी सम्हाले, जुन स्वयम् विवादास्पद निर्णय थियो। उनले गृहमन्त्री हुँदा गरेको कार्यशैलीले धेरैलाई निराश बनायो।
सबैभन्दा ठूलो विवादको विषय बनेको छ—सहकारी काण्ड। रविमाथि सहकारीका करोडौं रकम दुरुपयोग भएको आरोप लागेपछि उनको छवि गिर्दै गयो। पार्टीभित्र उनले आलोचनाको सामना गर्नुपर्यो। तर, पार्टी सुधारको पक्षमा बोल्ने नेताहरूलाई निष्कासन गर्दै उनले अधिनायकवादी शैली देखाए।
डा. मुकुल ढकालः योग्य नेतृत्वलाई किन बर्खास्त गरियो?
डा. मुकुल ढकाल पेशाले एक कुशल चिकित्सक मात्र होइनन्, पार्टीको महत्वपूर्ण स्तम्भ थिए। उनले रास्वपाको सांगठनिक सुदृढीकरणमा ठूलो भूमिका खेले। तर, पार्टी सरकारमा गएपछि उनले रवि लामिछानेको नेतृत्वप्रति असन्तुष्टि जनाए। उनले सार्वजनिक रूपमा रवि लामिछानेको शैलीमाथि प्रश्न उठाए—“पार्टीको छवि किन बिग्रँदै गयो?“
यही प्रश्न उठाएबापत उनलाई पार्टीले निष्कासन गर्यो। रविले उनलाई साधारण सदस्य समेत नराखी निष्कासन गर्दा स्पष्ट भयो—पार्टीभित्र असहमतिको कुनै स्थान छैन।
राजेश तिम्सिनाको निलम्बनः असहमति दण्डनीय?
राजेश तिम्सिना एक पूर्व बैंक कर्मचारी हुन्, जसले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। उनी कोशी प्रदेश अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए। पार्टीभित्रको अन्यायपूर्ण निर्णयप्रति उनले खुलेर आवाज उठाए। विशेषतः, उनले डा. मुकुल ढकाललाई पार्टीमा पुनःस्थापना गर्नुपर्ने मागसहित पार्टीलाई पत्र लेखे।
रवि लामिछाने नेतृत्वको अनुशासन समितिले यो पत्रलाई ‘अनुशासनहीनता’को रूपमा व्याख्या गर्दै उनलाई अर्को आदेश नआएसम्मका लागि निलम्बन ग¥यो। असहमतिको स्वर दबाउने रविको शैली यहाँ पनि स्पष्ट देखियो।
ज्वाला संग्रौलालाई किन प्रश्रय? रविको राजनीतिक स्वार्थ के हो?
रवि लामिछानेको नीति असमान छ। योग्य र इमानदार नेताहरूलाई दमन गर्ने रविले ज्वाला संग्रौलाजस्ता विवादास्पद अभिव्यक्ति दिने व्यक्तिलाई भने खुला रूपमा संरक्षण दिइरहेका छन्।
ज्वाला संग्रौलाले सामाजिक सञ्जालमा लेखिन्—
“रबिदाईले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे त साथीहरू!“
अब प्रश्न उठ्छ—किन रविले बलात्कारीलाई जीवनदान दिए? के उनले कुनै स्वार्थपूर्तिका लागि यस्तो निर्णय गरेका थिए? यदि रवि आलोचनाका नाममा मुकुल ढकाललाई निष्कासन गर्न सक्छन् भने, किन ज्वालाले दिएको यस्तो गम्भीर अभिव्यक्तिलाई बेवास्ता गरियो?
अझ अचम्मको कुरा—ज्वालाले आफ्नै पार्टीका नेताहरूलाई समेत ‘काण्डमा मुछिएका’ भनेर आरोप लगाइन्। उनले लेखिन्—
“ज जस्ले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्।“
यदि पार्टीका सबै व्यक्ति कुनै न कुनै घोटालामा मुछिएका छन् भने, यो स्वीकार गर्ने कि अस्वीकार गर्ने? यदि यो सही हो भने, रास्वपा पार्टीकै आधारभूत संरचना भ्रष्ट भएको प्रमाणित हुँदैन?
हलिउडको ‘डिक्टेटर’ जस्तो रविको शैली
रवि लामिछानेको पछिल्लो गतिविधि हलिउडको चर्चित चलचित्र “त्जभ म्ष्अतबतयच“ का मुख्य पात्रसँग मेल खान्छ। उक्त चलचित्रमा तानाशाह पात्रले आफ्ना आलोचकहरूलाई निरंकुश शैलीमा दबाउने, विरोधको स्वर बन्द गर्ने, र आफ्ना चाटुकारहरूलाई संरक्षण गर्ने नीति अपनाउँछ।
ठीक यही शैली रविले रास्वपाभित्र देखाएका छन्। योग्य नेताहरूलाई दमन गर्दै आफूलाई समर्थन गर्नेहरूलाई सत्ताको संरक्षण दिने रविको चरित्रले उनी लोकतान्त्रिक राजनीतिका लागि खतरा बन्दै गएका छन्।
रास्वपाको वास्तविकताः भ्रष्टाचार, स्वार्थ र अधिनायकवादको गन्तव्य?
रास्वपाको स्थापनाका बेला यसलाई इमानदार, पारदर्शी र भ्रष्टाचारमुक्त पार्टीका रूपमा प्रस्तुत गरियो। तर, हाल यो पार्टी गम्भीर आन्तरिक द्वन्द्वमा फसिसकेको छ। रविको नेतृत्वले पार्टीलाई नयाँ उचाइमा पुर्याउने होइन, पतनको दिशामा लैजाने सम्भावना बढाएको छ।
रवि लामिछानेमाथि लागेका आरोपहरूः
- सहकारी घोटालामा संलग्नता
- सत्ताको आडमा बलात्कारीलाई संरक्षण
-आलोचकहरूलाई दमन गर्ने अधिनायकवादी नीति
- योग्य र इमानदार नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने प्रवृत्ति
अब प्रश्न उठ्छ—रास्वपा भित्र अब कस्ता पात्रहरू रहने छन्? योग्य, इमानदार र निष्ठावान व्यक्ति पार्टीबाट बाहिरिने वा निष्कासित हुने, जबकि रविको स्तुति गाउनेहरू मात्र सुरक्षित रहने नीति अबको परिपाटी हो?
निष्कर्षः रवि लामिछानेको राजनीतिक भविष्य अब कस्तो?
रवि लामिछानेको राजनीतिले उनीप्रति गहिरो प्रश्न उठाएको छ। उनी साँचै जनताको नेता हुन् कि तानाशाह? “मैयाँलाई काखा, भैयालाई पाखा“ भन्ने रविको शैलीले पार्टीभित्र डरको शासन सिर्जना गरिरहेको छ।
रास्वपा अब विकल्पको रूपमा रहन्छ कि रवि लामिछानेको व्यक्तिगत स्वार्थ पूर्तिको औजार मात्र बन्छ?
यसको उत्तर अब आउने दिनहरूले दिनेछन्। तर, एउटा कुरा स्पष्ट छ—रास्वपामा रवि लामिछानेको नेतृत्व रहुन्जेल लोकतन्त्रको सम्भावना शून्यप्रायः देखिन्छ।