"दलित युवामाथि अत्याचारको आरोप: गृहमन्त्री रमेश लेखकमाथि कारवाहीको माग गर्दै कांग्रेस कार्यालय घेरा!"

अन्तरजातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री रमेश लेखकमाथि कारवाहीको माग गर्दै विभिन्न अभियन्ताहरूले काँग्रेस केन्द्रीय कार्यालय घेरा गरेको छ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा माइतीघर मण्डलादेखि सानेपा पुगेको विरोध टोलीले गृहमन्त्री लेखकको आलोचना गर्दै नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। "दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर", "जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर" लगायतका नारा बोकेका उनीहरूले कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा–५ की नेहा रौनियारको अन्तरजातीय प्रेम विवाह गरेपछि गृहमन्त्री लेखकको संरक्षण र उच्च प्रहरी अधिकारीको संलग्नतामा ज्यादती गरेको आरोप लागेको छ।
यो विषय सञ्चार माध्यममा सार्वजनिक भएपछि दलित अधिकारकर्मी र सरोकारवालाहरूको चर्को विरोध सुरु भएको हो। बुधबार 'दलितका लागि दलित अभियान' ले माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन पनि गरेको थियो। तर गृहमन्त्री रमेश लेखकले आरोपलाई अस्वीकार गर्दै संसदमा स्पष्टीकरण प्रस्तुत गरेका छन्।
गृहमन्त्री रमेश लेखक दलित युवामाथि अत्याचारको आरोप