कुलमान हटाइएपछि प्रचण्ड आक्रोशित: 'स्वर्ग र नर्क सम्झायो'

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुलमान हटाउने निर्णय जालझेलपूर्ण भएको आरोप लगाए। ‘हामीले प्रधानमन्त्रीलाई संसद्मै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छौँ। जबसम्म चित्तबुझ्दो जवाफ आउँदैन, सदन चल्दैन,’ प्रचण्डले भने, ‘उहाँले सफा स्पष्टीकरण दिनुपर्छ। यदि जालझेलपूर्ण जवाफ आयो भने आन्दोलनको बाटो रोज्न बाध्य हुन्छौँ।’
‘टीआरसी टुंग्याएपछि कुलमान हटाउने निर्णय गरियो’
प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू टुंग्याउन बैठक बोलाएका थिए। सो बैठकमा कुलमान घिसिङबारे कुनै छलफल नभएको उनले दाबी गरे।
‘मैले सिंहदरबारमा टीआरसीसम्बन्धी छलफल सकिनासाथ मन्त्रिपरिषद्को बैठक बस्यो र कुलमान हटाइए। यसले फेरि मलाई स्वर्ग र नर्क सम्झायो,’ प्रचण्डले भने। उनले आफूलाई धोका दिएको महसुस भएको बताउँदै सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाए।
‘टीआरसी र कुलमानको साटापाटको आरोप आपत्तिजनक’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ‘टीआरसीको टुंगो लगाएर प्रचण्डले कुलमान साटे’ भन्ने आरोप लगाएका थिए। प्रचण्डले यो दाबी अस्वीकार गर्दै आफू कुनै प्रकारको साटापाटमा संलग्न नभएको स्पष्ट पारे।
‘यो झूटो प्रचारबाजी हो। यस्तो गलत आरोप हामीलाई स्वीकार्य छैन,’ उनले भने। प्रधानमन्त्री ओलीले कुलमान हटाउने विषयमा संसद्मा स्पष्टीकरण नदिएसम्म सदन नखोल्ने अडानमा रहेको माओवादी केन्द्रले सरकारलाई दबाब दिने संकेत गरेको छ।