प्रचण्डको बैठकमा रास्वपा सामेल भएपछि ओलीको प्रश्न- ‘मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्यो?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कटाक्ष गर्दै सही बाटोमा हिँड्न चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले माओवादी केन्द्रको बैठकमा सहभागी हुनु गलत संकेत भएको बताए। उनले भने, "नयाँ शक्ति भन्नेहरू हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न किन हिँड्नुपर्यो?"
उनको यो टिप्पणी विपक्षी गठबन्धनको बैठकमा रास्वपाको सहभागिताप्रति लक्षित थियो। प्रचण्ड नेतृत्वको बैठकमा रास्वपा पनि सामेल भएपछि ओलीले रास्वपालाई ‘अझै सिक्दै गरेको पार्टी’ भन्दै सही बाटोमा हिँड्न सुझाव दिए।
रास्वपा–माओवादी नजिकिँदै?
रास्वपा प्रमुख लामिछानेले कुलमान घिसिङको बर्खास्तीको विरोध गर्दै सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्। यही क्रममा उनी माओवादी नेतृत्वको बैठकमा सहभागी भए। ओलीले भने रास्वपा नयाँ शक्ति भएको दाबी गर्ने तर ‘हतियार उठाउनेहरूसँग’ सहकार्य गर्न हतार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।
"क्रान्ति गर्छु भनेर मान्छे मार्नेहरूका साथमा जान जरुरी छ र? आफूलाई नयाँ शक्ति भन्नेले थकित तत्त्वहरूको पसिना पुछ्न जानुपर्ने?" ओलीको प्रश्न थियो।
प्रचण्डलाई समेत कडा चेतावनी
ओलीले प्रचण्डलाई लक्षित गर्दै उनलाई ‘पार्टी फुटाउने र प्रगतिशील सरकार ढाल्ने खेलाडी’ को संज्ञा दिए। उनले आरोप लगाउँदै भने, "यिनै तत्वहरू हुन् जसले दुई तिहाइको सरकार गिराए, पार्टी टुक्र्याए, प्रगतिशील सरकार ढाल्न भूमिका खेले।"
उनले प्रचण्डको पछिल्लो स्ट्याटसलाई पनि व्यंग्य गर्दै भने, "मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस् भनेर लेखेछन्। होइन रहेछ भने चिसै पानीले नुहाउनुहुन्छ।"
ओली–प्रचण्ड द्वन्द्व पुनः चर्किँदै
ओलीको भनाइमा प्रचण्डविरुद्धको आक्रोश झल्किएको देखिन्छ। लामो समयसम्म सत्ताको बागडोर सँगै सम्हालेका ओली–प्रचण्डबीच अहिले सम्बन्ध बिग्रँदै गएको छ। कुलमान घिसिङको बर्खास्तीले विपक्षी दलहरू सरकारविरुद्ध एकजुट भइरहेका बेला ओलीले रास्वपाको चालबारे पनि संकेत गरेका छन्।
के रास्वपा सचेत हुन्छ? वा उसले सरकारविरुद्ध कडा अडान लिँदै माओवादीको नजिकिने संकेत दिन्छ? ओलीको प्रश्नले नेपाली राजनीतिको नयाँ समीकरणको संकेत दिएको छ।