कुलमान र राजावादीको समर्थनमा ‘नाटक’ गर्ने अमेरिकी पक्राउ, डिपोर्टको सम्भावना

कुलमान र राजावादीको समर्थनमा ‘नाटक’ गर्ने अमेरिकी पक्राउ, डिपोर्टको सम्भावना

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका एक अमेरिकी नागरिक पक्राउ परेका छन्। आफूलाई ‘देशविहीन’ बताउने ती विदेशी नागरिक केही समयमै राजावादी पोस्टर बोकेर पनि प्रहरीसँग भिड्न पुगेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सुरुमा कुलमान समर्थकको रूपमा पम्प्लेटसहित देखिएका उनी त्यसपछि दौरासुरुवालमा राजसंस्थाको समर्थन गर्दै नाराबाजी गर्न थाले। उनी बारम्बार फरक–फरक समूहको समर्थन गर्दै ‘नाटकीय शैली’मा प्रस्तुत भएपछि सुरक्षाकर्मीले शंका गर्दै पक्राउ गरेका हुन्।

सिंहदरबार वृत्तका डीएसपी गङ्गाप्रसाद पौडेलका अनुसार ती विदेशी नागरिकले आफ्नो नाम जुली बताएका छन् र उनी अमेरिकी नागरिक भएको खुलेको छ। उनी पर्यटक भिसामा नेपाल आएका भए पनि भिसा अवधि सकिएको देखिएको छ।

नेपालमा विदेशी नागरिकलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन कानुनी रोक लगाइएको छ। प्रहरी स्रोतका अनुसार, ओभरस्टे पुष्टि भएमा उनलाई अध्यागमन कानुनअनुसार डिपोर्ट गरिन सक्छ। ‘मेरो देश छैन, पृथ्वी नै मेरो घर हो’ भन्ने ती अमेरिकी नागरिक नेपालमा के उद्देश्यले यस्ता गतिविधि गरिरहेका थिए भन्नेबारे अनुसन्धान जारी छ।

संम्बधित खबर