केबलकारको विरोधमा कड्किए आन्दोलनकारी! गृहमन्त्रीले वार्तामा आउन किन गरे आग्रह?

काठमाडौं । ताप्लेजुङको पाथीभरमा निर्माणाधीन केबलकारको विरोध गर्दै आएका आन्दोलनकारीहरूलाई गृहमन्त्री रमेश लेखकले वार्तामा आउन आग्रह गरेका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले ‘नो केबलकार समूह’ को मागप्रति सरकार गम्भीर रहेको बताए। उनले समस्या समाधानका लागि सरकारले वार्ता प्रक्रियालाई प्राथमिकता दिएको उल्लेख गर्दै आन्दोलनरत पक्षलाई सहकार्य गर्न अनुरोध गरे।
‘गृह मन्त्रालयले सह-सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। तर, आन्दोलनकारीहरूले वार्तामा अवरोध गरेपछि फागुन १२ गते पुनः वार्ताको लागि आह्वान गरिएको छ,’ उनले भने। साथै, सरकारले शान्तिपूर्ण समाधानको लागि गम्भीर प्रयास गरिरहेको उनको दाबी छ।
पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण रोक्नुपर्ने माग गर्दै एक समूह निरन्तर आन्दोलनमा छ। तर, सरकारी वार्ता टोलीसँग बारम्बार छलफल भए पनि सहमति हुन सकेको छैन। यसअघि सरकारको सचिवस्तरीय टोलीसँग वार्ता अस्वीकार गर्दै ‘नो केबलकार समूह’ ले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने माग राखेको थियो।
गृहमन्त्री रमेश लेखक