बंगलादेशमा दुई तिहाइको सरकार भए पनि जनता उठेपछि भागेको थियो : उपेन्द्र यादव

बंगलादेशमा दुई तिहाइको सरकार भए पनि जनता उठेपछि भागेको थियो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको सरकारले जनताको समस्या हल नगरेको आरोप लगाएका छन् । बलियो भएर मात्र नहुने, जनताको काम पनि गर्नुपर्ने बताउँदै उनले बंगलादेशमा दुई तिहाइको सरकार भए पनि जनता उठेपछि भागेको र श्रीलंकामा बहुमतको सरकार पनि जनताले लखेटेको दृष्टान्त दिएका हुन् ।

संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार बन्ने बित्तिकै राजनीतिक स्थिरता दिने, संविधान संशोधन गर्ने, सुशासन कायम गर्ने केही प्रतिबद्धता गरे पनि त्यसमध्ये केही काम नभएको बताए । यो सरकार सबै क्षेत्रमा असफल भइसकेको उल्लेख गर्दै उनले सरकारको कामले गर्दा जनता आक्रोशित भएको टिप्पणी गरे । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी आर्थिक अवस्था सुधार गर्ने, राष्ट्रिय समस्या समाधान गर्ने, मौलिक हक रक्षाका लागि यो मोर्चा गठन भएको उनले जानकारी दिए । मोर्चा गठन गर्न ऐतिहासिक आवश्यकता रहेको उनको भनाई थियो । 

मोर्चाले यथास्थितिवादीहरूलाई धक्का दिनका लागि अगाडि बढ्ने बताउँदै उनले देशमा एकातिर प्रतिगमनकारीको चलखेल चलिरहेको बेला अर्कोतिर यथास्थितिवादी अर्थात् काँग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्थामा लैजाने प्रयासमा लागेको आरोप लगाए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेसवादी दलहरू कहिले अलग नभए पनि अलग मात्र देखिएको जिकिर गरे । उनले देशको अवस्था हेरेर देखिने गरि मोर्चा बनेर आएको बताए । 

संम्बधित खबर