पाकिस्तानको वायु सुरक्षा प्रणालीमा गम्भीर क्षति, गलत प्रचारमा व्यस्त इस्लामाबाद

भारतद्वारा हालै सञ्चालन गरिएको ‘अपरेसन सिन्धूर’ पछि पाकिस्तानको HQ-9 वायु रक्षा प्रणालीमा गम्भीर क्षति पुगेको छ। भारतीय सटीक मिसाइल आक्रमणपछि पाकिस्तानका छ वटा स्थानमा २४ प्रभावशाली आघात भएका छन्, जसमा वायु सुरक्षा लन्चरहरू पनि नष्ट गरिएको स्रोतहरूले जनाएका छन्।
पाकिस्तानी सेनाले केही भारतीय ड्रोनहरू खसालेको दाबी गरे पनि यसको पुष्टि हुन सकेको छैन। बरु, पाकिस्तानले अब गलत प्रचारको युद्धमा आफूलाई झोंकेको देखिएको छ—पुराना तस्बिरहरू, फर्जी भिडियोहरू र पूर्णतः बनावटी दाबीहरू सामाजिक सञ्जालमार्फत फैलाउँदै, वास्तविकता ढाकछोप गर्ने प्रयास भइरहेको छ।
भारतको प्रेस सूचना ब्यूरो (PIB) अन्तर्गतको तथ्य-जाँच इकाइले पाकिस्तानका यस्ता प्रचारहरूलाई एकपछि अर्को गर्दै खारेज गर्दै गएको छ। अमृतसरस्थित भारतीय सैन्य अड्डामा आक्रमण गरिएको र धेरै सैनिकहरू घाइते भएको दाबी गरिएको एउटा भिडियोबारे PIB ले स्पष्ट पारेको छ—उक्त भिडियो वास्तवमा २०२४ मा भएको एक बनडढेलको हो, सैन्य कारबाहीसँग कुनै सम्बन्ध छैन।
त्यस्तै, पाकिस्तानले भारतीय राफेल लडाकु विमानलाई बाहावलपुरमा खसालिएको भन्दै जुन तस्बिर सार्वजनिक गर्यो, त्यो पनि सन् २०२१ मा मोगा, पंजाबमा भएको MiG-21 दुर्घटनाको भएको पुष्टि गरिएको छ।
अझ हास्यास्पद स्थिति तब देखियो जब पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ CNN सँगको अन्तर्वार्तामा प्रमाणको सट्टा “सोसल मिडियामा सबै छ” भनेर जवाफ दिए। प्रस्तुतकर्ता पत्रकारले स्पष्ट रूपमा भने, “हामी तपाईंलाई यहाँ सामाजिक सञ्जालको सामग्रीमाथि बहस गर्न बोलाएका होइनौं।”
यो घटनाक्रमले पाकिस्तानको प्रचार तन्त्र कति कमजोर र अविश्वसनीय बनेको छ भन्ने देखाउँछ। जब देशको रक्षा नेतृत्व आफैँ सामाजिक सञ्जालको असत्य सामग्रीलाई प्रमाण मान्न थाल्छ, त्यसले विश्वसनीयताको गम्भीर संकट उत्पन्न गर्छ।
सैन्य रूपमा गम्भीर क्षति व्यहोरेको पाकिस्तान अब गलत प्रचारको माध्यमबाट जनमत परिवर्तन गर्न खोजिरहेको छ, तर वास्तविकता स्पष्ट छ—भारतको लक्ष्यित कारबाहीले पाकिस्तानको आतङ्कवाद संरचनालाई मात्र होइन, उसको सैन्य क्षमतालाई समेत गहिरो चोट पुर्याएको छ। यतिबेला पाकिस्तानको गलत प्रचारभन्दा बढी उसले गुमाएको सैन्य शक्ति र विश्वसनीयता चिन्ताको विषय बनेको छ।