समाचार

बाजुराको भीरपाखामा भारतले बनाउँदैछ खाद्यान्न केन्द्र—अब भोक र दुर्गमता दुबै हट्ने?

बाजुराको भीरपाखामा भारतले बनाउँदैछ खाद्यान्न केन्द्र—अब भोक र दुर्गमता दुबै हट्ने?

बाजुरा — सुदूरपश्चिम नेपालको दुर्गम बस्ती मुक्तिकोट, बाजुरामा अब खाद्यान्न अभावको कथा बदलिन थालेको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रले हिमाली क्षेत्रको कृषि प्रणालीमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिकास्थित उक्त केन्द्रको भवन निर्माणको शिलान्यास स्वयम् गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा गर्नुभयो। स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र समुदायका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

३ करोड १४ लाख १० हजार रुपैयाँ लागतमा निर्माण हुँदै गरेको यो केन्द्र भारत-नेपाल उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गतको साझेदारी हो। भवनमा वितरण डेस्क, रेकर्ड रुम, भण्डारण सुविधालगायत कृषि उत्पादन संकलन, संरक्षण र वितरणका लागि आवश्यक सम्पूर्ण संरचना समावेश हुने बताइएको छ।

स्थानीय सरोकारवालाहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो पूर्वाधारले गाउँका किसानका उत्पादनलाई उचित व्यवस्थापन गर्ने मात्रै होइन, हिमाली भेगमा खाद्य सुरक्षाको दीर्घकालीन समाधान खोज्ने विश्वास व्यक्त गरे।

नेपालमा सन् २००३ यता भारत सरकारले ५७३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ, जसमध्ये ४९५ पूरा भइसकेका छन्। बाजुरामा मात्रै २ वटा यस्ता परियोजनाहरू सम्पन्न भइसकेका छन् भने तीन वटा एम्बुलेन्स र एउटा स्कुल बस भारतबाट प्राप्त भइसकेको छ।

आजको परिप्रेक्ष्यमा हेर्दा, जहाँ परिवहन, सञ्चार र मौसमी चुनौतीहरूले किसानलाई कहिले वर्षाले, कहिले अनिकालले थिचिरहेका छन्, त्यहाँ यस्तो सहकार्यले साँच्चै गाउँलेको ढाड सीधा गर्न सक्ने सम्भावना बोकेको छ।