‘जेनजीसँगको वार्ताले प्रधानमन्त्रीको समय खाइरहेको छ’ — प्रसाईँ
काठमाडौं — विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीमाथि जेनजी आन्दोलनसँगको वार्तामा समय खेर फालिरहेको आरोप लगाएका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले भने, “अहिले सरकारको हालत यस्तो छ कि पाँच हजार जेनजी मन्त्री बन्न लाइनमा छन्। जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ।”
उनका अनुसार प्रधानमन्त्री कार्की अहिले राजनीतिक दबाब र आन्दोलनबीच फसिएकी छन्। प्रसाईँले व्यङ्ग्य गर्दै थपे, “प्रधानमन्त्री बस्न पनि सक्दिन, उठ्न पनि सक्दिन भन्ने अवस्थामा पुगेकी छन्।”
त्यस्तै, उनले काठमाडौंका मेयर बालेन शाहमाथि पनि कटाक्ष गर्दै भने, “बालेन अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिँडिरहेका छन्। तर एकदिन उनी नै मेरो शरणमा आउँछन्, ‘मलाई जोगाइदिनुहोस्’ भनेर।”
प्रसाईँले आगामी मंसिर ७ गतेदेखि सुरु हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै अराजक गतिविधि नहुने दाबी पनि गरे।
दुर्गा प्रसाई