साम्पाङ शो: बालेनभन्दा रंगीन तस्बिर, धरानका मेयरले देखाए नालायकीको नयाँ कीर्तिमान!
स्थानिय सरकार’ लेखिएको बोर्ड फुट्यो, मेयरको घमण्ड अझै ठाडो! धरानमा स्टन्टको राज!

धरान — धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) सामाजिक सञ्जालमा अत्यधिक चर्चित नाम हो। उनी गितार बजाउँदै पानी बोक्ने, कविता लेख्दै प्रशासन चलाउने, र स्टन्ट गर्दै राजनीति गर्ने शैलीमा परिचित छन्। धेरैले उनलाई सुरुवातमा विकासप्रेमी र कर्मठ जनप्रतिनिधिको रूपमा चिनेका थिए। तर, अहिले उनको कामभन्दा भाषण र प्रचार बढी चर्चामा छ। आरोपहरू यति धेरै छन् कि अब ‘विकास’ भन्दा पहिले ‘विवाद’ जोडिएर उनको नाम लिइन्छ।
हर्क साम्पाङमाथि लागेका विवाद र आरोपहरूको सूची लामो छ—जनयुद्धकालमा नक्कली माओवादी गुरिल्ला बनेर चन्दा असुली गरेको आरोप, इसाई धर्मप्रचारमा संलग्नता, खानेपानी आयोजनामा पारदर्शिताको अभाव, श्रमदानको नाममा चन्दा संकलन, जातीय घृणा फैलाउने अभिव्यक्तिहरू, अपमानजनक भाषाशैली र असंवैधानिक प्रशासकीय हस्तक्षेप—यी सबै विवाद र आरोपहरू उनले आफैं बनाएका दृश्यहरू जत्तिकै आकर्षक र गम्भीर छन्। यद्यपि यीमध्ये धेरै आरोपहरू पुष्टि भएका छैनन्, तर यी विषयहरू चर्चामा छन्, र स्थानीय तहका लागि यस्ता चरित्रहरू सजिलोसँग छायाँबाट उम्कन सक्दैनन्।
हर्क साम्पाङको एउटा चर्चित कथा हो—‘स्थानिय सरकार’को बोर्ड। धरान उपमहानगरपालिकाको गेटमा पहिले लेखिएको थियो—“धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय”। एक साँझ बियरको गिलास र ‘गरिन टी’ सँग गितार बजाउँदै बसेका साम्पाङको दिमागमा, कथन अनुसार, अचानक विचार आयो—‘स्थानिय सरकार’ पनि लेखिनुपर्छ। त्यसपछि ठूला अक्षरमा “स्थानिय सरकार” लेखियो। जुन सामान्य मान्छेलाई हास्यास्पद लाग्न सक्छ, त्यो साम्पाङका लागि राजनीतिक ब्राण्डको भाग बन्यो।
तर, २०८१ सालको साउनमा धरानका १० वटा दलले सामूहिक आन्दोलन गरे। उनीप्रतिको असन्तुष्टि यति तीव्र थियो कि आक्रोशित स्थानीयहरूले सो बोर्ड नै तोडफोड गरे। त्यसबेलै साम्पाङले फेसबुकमा लेखे—“कानुनमा कसैलाई छुट छैन!” तर त्यो दिनदेखि आजसम्म बोर्ड मर्मत भएको छैन। श्रोतहरूका अनुसार, उनले यो बोर्ड २०८४ सालसम्म मर्मत नगरी चुनावी मसला बनाउने योजना बनाएका छन्।
धरानवासीहरू भन्छन्—“यदि हर्क साम्पाङ साँच्चिकै जिम्मेवार मेयर हुन् भने बोर्डको मर्मत गरेर धरानको सान जोगाउनु पर्थ्यो। तर लाग्छ, उनी यो बोर्ड देख्दैनन्—या त उनका आँखा पुटेका छन्, या उनी जानाजान आँखा चिम्लिरहेका छन्।”
खानेपानी परियोजनामा ७ करोड ४ लाख रुपैयाँ संकलन भएको थियो। तर सोमध्ये ६५ लाख रुपैयाँ प्रक्रिया विना खर्च गरिएको, २७ लाख रुपैयाँ मजदुरी शीर्षकमा प्रयोग गरिएको र श्रमदानको नाममा उठाइएका चन्दा र श्रम बीच तालमेल नरहेको सार्वजनिक भएको छ। प्रश्न उठ्छ—श्रमदान त निःशुल्क हुन्छ, तलब कहाँबाट आयो?
२०८० सालमा प्रशासकीय प्रमुख प्रज्ञा निरौलासँगको विवाद थप चर्चित बन्यो। साम्पाङले उनलाई अवैध फाइलमा हस्ताक्षर गर्न दबाब दिएको आरोपमा उनी बिदा पठाइएकी थिइन्।
संघीय सरकारको बजेटमा धरान–५ मा सुरु गरिएको हेल्थ कोरिडोर योजनालाई साम्पाङले ‘खोलाको अतिक्रमण’ भन्दै रोक लगाए। तर स्थानिय जनप्रतिनिधिहरूले योजना रोक्ने निर्णय बिना समन्वय भएको भन्दै आलोचना गरेका थिए।
त्यसका अलावा साम्पाङले आफ्नो घरअगाडि रोपिएको सिमलको बोटमा नगरकोषबाट २ लाख रुपैयाँ खर्च गरेका छन्। २ लाख ३५ हजार रुपैयाँको ड्रोन खरिद पनि नगरपालिकाले गरेको छ, तर यसको प्रयोगबारे अझै सार्वजनिक विवरण छैन।
धरान नगरपालिकाको कार्यालयको पर्खालमा साम्पाङका व्यक्तिगत कविता र नाराहरू टाँसिएको देखिन्छ। घण्टाघर क्षेत्रमै उनका कविता लेखिएका शिलालेखहरू देखिन्छन्। स्थानीयहरू भन्छन्—“अब त धरान नगरपालिका होइन, साम्पाङ संग्रहालयजस्तो लाग्छ!”
यी सबै घटनाहरू हेर्दा लाग्छ—हर्क साम्पाङको नेतृत्व विकास होइन, दृश्य निर्माण हो। उनी कामभन्दा बढी प्रदर्शन गर्छन्। शहरको समस्या हल गर्नेभन्दा पनि, आफ्नै ब्रान्ड बनाउने अभियानमा लागिपरेका छन्।
एक स्थानीय युवाले भनिन्—”‘स्थानिय सरकार’ लेख्न त भ्याइयो, अब त ‘स्थानिय स्टन्ट अधिकारी’ भनेर बोर्ड हाल्ने बेला भइसकेछ!”
धरानका गम्भीर समस्याहरू यथावत छन्—खानेपानीको अभाव, योजनाको अवरुद्धता, प्रशासनिक अन्याय र जनतामा निराशा। तर साम्पाङको फेसबुक स्टाटस र गितारले त्यो पीडामा मल्हम पट्टी लगाउन सक्दैन।
हर्क साम्पाङका लागि बोर्ड टाँस्ने गोंडाबाट उठेर सहर चलाउनु पर्ने समय आएको छ। यदि अझै पनि गितार, बोर्ड र स्टाटसमै अड्किरहे भने, धरानको जनताको धैर्यले अर्को ‘साम्पाङ शो’ होइन, नयाँ नेतृत्वको माग उठाउनेछ।