समाचार

भारतमा कोरोना बढ्दो, नेपाल सीमामा आँखा चिम्लिएर आदेशको पर्खाइमा

भारतमा कोरोना बढ्दो, नेपाल सीमामा आँखा चिम्लिएर आदेशको पर्खाइमा

इटहरी — भारतमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। बिहीबारसम्म मात्र भारतमा १४ जनाको ज्यान गइसकेको छ। तर नेपाल-भारत सीमामा भने अझै कुनै स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन। यस्तो लापरवाहीले महामारीको नयाँ तरङ्ग नेपाल भित्रिने खतरा निम्त्याएको देखिन्छ।

नेपालसँग जोडिएका कोशी प्रदेशका झण्डै तीन दर्जन खुला नाकाहरू—काँकडभिट्टा, भद्रपुर, दर्बेसा, जोगवनी, भन्टाबारी, कोशी ब्यारेज—पहिले पनि महामारीका समयमा अत्यन्त संवेदनशील मानिएका थिए। २०७६ सालमा पहिलो कोरोना केस देखिएपछि त्यतिबेला तत्कालीन प्रदेश सरकारले नाकाहरू बन्द गरेर उच्च सतर्कता अपनाएको थियो। तर अहिलेको अवस्था त्यो विपरीत देखिन्छ।

सुरक्षाकर्मीहरूका अनुसार भारत जानेलाई भने खासै निगरानी गरिएको छैन। बरु किनमेल गरेर फर्किने यात्रुहरूको झोला र सामान मात्रै जाँचिने गरिएको छ। जोगवनी नाकामा खटिएका एक सुरक्षाकर्मी भन्छन्, “हामीलाई माथिल्लो निकायबाट कुनै नयाँ निर्देशन आएको छैन। यथास्थितिमा ड्युटी गरिरहेका छौं।”

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, “भारतमा संक्रमण बढेको जानकारी हामीसँग छ। तर संघीय सरकारबाट अहिलेसम्म सतर्कता अपनाउन कुनै आधिकारिक आदेश आएको छैन। हामीले आन्तरिक रुपमा भने निगरानी थालेका छौं।”

स्वास्थ्यकर्मीहरू भने यसबारे चिन्तित छन्। कोशी अञ्चल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. विविशा बानियाले हालै मात्र चेतावनी दिँदै भनिन्, “सभा-सम्मेलन र भिडभाडका कार्यक्रमहरू तत्काल रोक्नुपर्छ। ढिलो गरे पछुताउनु पर्ने स्थिति आउन सक्छ।” नोबेल अस्पतालका जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले सीमा क्षेत्रमा अनिवार्य पिसिआर परीक्षण र क्वारेन्टाइन अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

तर सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको तर्क केही फरक छ। “संघीय सरकारले सतर्कता अपनाउन कुनै निर्देशन दिएको छैन। तथापि बर्खाको मौसम सुरु भएकाले हामी विपद् व्यवस्थापन र उद्धार कार्यका लागि तयारी अवस्थामा छौं,” उनले भने।

यता कोशी प्रदेश सरकार भने कोरोना संक्रमणको समाचार आइरहँदा पनि ‘गणतन्त्र दिवस’को बहानामा कन्सर्ट र सभा-सम्मेलनमै व्यस्त देखिन्छ। प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रेवतीरमण भण्डारीको भनाइ यस्तो छ, “भारतमा कोरोना आयो भन्दैमा नेपालमा अहिले लकडाउन गर्नुपर्ने अवस्था छैन। हामीले पहिला अवस्था बुझेर त्यसपछि मात्र निर्णय लिन्छौं।”

तर यिनै ‘पहिला हेर्ने अनि पछिमात्र सोच्ने’ शैलीले महामारीको पहिलो चरणमा नेपाललाई कति ठूलो क्षति पुर्यायो भन्ने इतिहास बिर्सिनु भने आँखा चिम्लनु सरह हो। भारतको खुला सीमाबाट फेरि एकपटक कोरोना भित्रिने डर बढिरहेको बेला, सतर्कताको सट्टा राजनीतिक नेताहरू कन्सर्टको तालमा रमाइरहनु आफैँमा अबुझ व्यवहार हो।

हिजोको अनुभवले सिकाएको हो—कोरोना जति छिटो फैलिन्छ, निर्णय त्यति नै छिटो लिनुपर्छ। तर देखिन्छ, न सीमामा तगारो छ, न सरकारमा तत्परता। अब पनि ढिला गरिने हो भने यो ‘पर्खाइ’ले फेरि महामारीको ढोका खोल्न सक्छ।