समाचार

सेलिब्रेटी पत्रकार बचाउन सबै लागे, तर साना पत्रकारको आवाज किन बेपत्ता?

भ्रमित गर्ने समाचारको हल्ला कि सूचना स्वतन्त्रतामाथि हस्तक्षेप? दिलभूषण पाठकविरुद्ध साइबर मुद्दाले उब्जायो गम्भीर प्रश्नहरू

सेलिब्रेटी पत्रकार बचाउन सबै लागे, तर साना पत्रकारको आवाज किन बेपत्ता?

काठमाडौं — वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चार क्षेत्र फेरि एक पटक बहसको केन्द्रमा पुगेको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको अभियोग लागेका पाठकमाथिको कानुनी प्रक्रिया र त्यसमा देखिएको सरकारी चासोले सञ्चार स्वतन्त्रता र पत्रकारिताको आचारसंहितामाथि नै प्रश्न उठाएको छ।

घटनाको मूल जरो तीन हप्ता अगाडि प्रकाशित एक भिडियो सामग्री हो, जुन पाठकले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाले क्यानडा, अष्ट्रेलिया हुँदै रियलस्टेट व्यापार विस्तार गरेको तथा शंकर ग्रुपको लगानी रहेको नक्शालस्थित हिल्टन होटलको सेयर खरिदबिक्रीमा संलग्न भएको दाबी गरेका थिए।

तर, यो प्रसारणपछि शंकर ग्रुपले वैशाख २१ गते विज्ञप्ति निकाल्दै ती दावीहरूलाई पूर्णतः खण्डन गर्‍यो। विज्ञप्तिमा लेखिएको छ, “राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडिँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरूले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्‍याएकोप्रति गम्भीर आपत्ति जनाइन्छ।” साथै ग्रुपले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको थियो।

यसै सन्दर्भमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा पाठकविरुद्ध उजुरी दर्ता भएपछि अदालतले पक्राउका लागि अनुमति दिएको हो। प्रहरीले पुष्टि गरे पनि उजुरी कसले हालेको र के कुरामा आपत्ति जनाइएको भन्ने विवरण सार्वजनिक गरिएको छैन।


पाठकको प्रतिवाद

पाठकले भने आफूविरुद्ध आएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएका छन्। उनले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई इमेलमार्फत पत्र लेख्दै कानुनी प्रक्रिया र पत्रकारिता आचारसंहिताको रक्षा गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “प्रशारित सामग्रीमा असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग, यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने वैधानिक बाटो रहेको छ।”

पाठकको भनाइमा साइबर अपराध ऐनको प्रयोग गरेर आफूलाई फौजदारी मुद्दामा फसाउने प्रयास भइरहेको छ। उनले कानुनको मर्यादाभन्दा बाहिर गएर ‘बलपूर्वक’ पक्राउ गर्न खोजिएको आरोप लगाएका छन्।


सन्देहको घेरो

पत्रकारिता र कानुनी प्रक्रिया एउटै दिशामा हिँड्नुपर्ने भए पनि पछिल्ला घटनाक्रमले दुबैबीचको दूरी स्पष्ट देखिएको छ। प्रेस काउन्सिलले अनुसन्धान गर्न सक्ने वैधानिक व्यवस्था हुँदाहुँदै पनि प्रहरी निकायले प्रत्यक्ष कारबाहीको बाटो रोज्नुले पत्रकारिताको आत्मविश्वासमा चोट पुर्याएको छ।

एकातिर सूचना स्वतन्त्रताको नाममा समाचार सामग्री प्रशारण गरिन्छ भने अर्कातिर त्यो सामग्रीप्रति असहमति प्रकट गर्ने पथ पनि कानुनी रुपमा स्पष्ट छ। तर जब स्थापित मिडियाकर्मी स्वयं तथ्य प्रमाणबिना समाचार सार्वजनिक गर्छन्, त्यो कति जिम्मेवार पत्रकारिता हुन्छ भन्ने बहस उठ्न थाल्छ।


पाठकका लागि व्यापक समर्थन, तर...

दिलभूषण पाठक, एक जना वरिष्ठ पत्रकारको हैसियतले देशभर परिचित नाम हुन्। पत्रकारिता क्षेत्रका स्थापित अनुहारहरूमध्ये एक, उनको पक्षमा सहानुभूति प्रकट गर्नेहरूको संख्या कम छैन। उनका लागि पत्रकार महासंघदेखि कलाकार, लेखक र बुद्धिजीवी वर्गको साथ र समर्थन देखिन्छ।

तर यतिखेर ध्यान दिनुपर्ने कुरा के हो भने – पाठकजस्ता ‘सेलिब्रेटी’ पत्रकारका लागि सबैजना साथ दिन्छन्, तर सीमान्तकृत र क्षेत्रीय पत्रकार जब यसरी कानुनी दायरामा परेका हुन्छन्, तब उनीहरूको आवाज सुन्ने कोही हुँदैन। यहाँ मूल प्रश्न उठ्छ – जब स्वयं वरिष्ठ पत्रकारले पनि पुष्टि नभएका समाचार प्रशारण गर्छन् भने सूचना प्रवाह र उत्तरदायित्वको सीमा कहाँनेर थमिन्छ?

यही परिवेशमा आजको पत्रकारिता केवल सूचनाको प्रवाह नभई, सत्यको खोज र सामाजिक न्यायको संयोजन हो भन्ने कुरा फेरि एक पटक स्मरण गर्नु जरुरी छ।