समाचार

भारतले अछाममा बनायो आशाको स्कुल: सुदूरपश्चिमका बालबालिकालाई शिक्षाको ठूलो उपहार

भारतले अछाममा बनायो आशाको स्कुल: सुदूरपश्चिमका बालबालिकालाई शिक्षाको ठूलो उपहार

भारत सरकारले अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयको नयाँ भवन औपचारिक रूपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। उक्त परियोजना भारत–नेपाल विकास सहकार्य अन्तर्गतको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा अघि बढाइएको थियो।

हस्तान्तरण कार्यक्रम जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय दूतावास काठमाडौंका प्रथम सचिव सुमन शेखरको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा स्थानिय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।

३ करोड २४ लाख नेपाली रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालय भवनमा अध्ययन कक्ष, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय, प्रशासन शाखा, कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, लेखा शाखा तथा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय रहेका छन्। भारत सरकारको अनुदानले फर्निचर र कम्प्युटर खरिदमा समेत सहयोग पुर्‍याएको छ।

सन् १९६० मा स्थापित यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। यहाँ ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६५ प्रतिशत छात्रा छन्।

कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले भारत सरकारले नेपाली जनताको हितमा गर्दै आएको विकास सहकार्यको प्रशंसा गरे। नयाँ भवनले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुधार गर्ने विश्वास व्यक्त गर्दै यो कदमले सुदूरपश्चिम क्षेत्रको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे।

भारतले सन् २००३ यता नेपालभरि ५७३ वटा HICDP परियोजना सुरु गरिसकेको र तीमध्ये ४९५ पूरा भइसकेको जनाएको छ। सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ परियोजना रहेका छन्। यस्तै, भारत सरकारले नेपालभरका अस्पताल र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार दिएकोमा ७० एम्बुलेन्स र २७ बस सुदूरपश्चिममै वितरण गरिएको छ। अछाममा मात्र ६ वटा एम्बुलेन्स प्रदान गरिएको छ।

निकट छिमेकी भएको नाताले नेपाल–भारतबीचको बहुक्षेत्रीय सहकार्य अझ बलियो बनिरहेको देखिन्छ। यसरी पूर्वाधारमा भएको लगानीले नेपालको विकास यात्रा र जनकल्याणमा भारतको सहकार्यलाई प्रतिबिम्बित गरेको छ।