भारतको एम्बुलेन्स उपहारः नेपाल-भारत मित्रताको अर्को जीवनदायी संजाल

भारत सरकारले नेपालका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। नेपालका सबै सातवटै प्रदेश समेट्नेगरी गरिएको यो सहयोग भारत-नेपाल सम्बन्धमा एउटा सकारात्मक थप हो, जसले दुई देशबीचको विकास साझेदारीलाई अझ बलियो बनाएको छ।
एउटै दिन काठमाडौंस्थित भारतीय दूतावास, वीरगञ्जको महावाणिज्य दूतावास, पोखरा र धरानका पेन्सन भुक्तानी कार्यालयहरूमा आयोजित संयुक्त समारोहमार्फत यी एम्बुलेन्सहरू हस्तान्तरण गरिए। २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७–७ वटा पोखरा र वीरगञ्जमा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो।
काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा भारतीय राजदूतावासका उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले सवारी साधनहरूको चाबी हस्तान्तरण गरे। सो अवसरमा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय जनप्रतिनिधि, राजनीतिक नेता, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू र समाजसेवीहरूको बाक्लो उपस्थिति थियो।
साझेदारीको गहिरो सन्देश
कार्यक्रममा उप–प्रमुख श्रीवास्तवले नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ गर्न भारतले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै भने, “यी एम्बुलेन्सहरू केवल सवारी साधन होइनन्, यो दुई देशबीचको जीवन्त मित्रता र सहकार्यको चिन्ह हो।” उनले नेपाल–भारत विकास साझेदारी सात दशकभन्दा बढी समयदेखि विस्तार र गहिरिँदै आएको स्मरण गराए।
कार्यक्रममा सहभागी विभिन्न जिल्ला र संस्थाका प्रतिनिधिहरूले भारत सरकारप्रति आभार व्यक्त गर्दै एम्बुलेन्सहरूले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। विशेष गरी दुर्गम क्षेत्रमा तत्काल उपचारका लागि प्रयोग हुने यस्ता एम्बुलेन्सहरूले जनताको जीवन र मृत्युबीचको दुरी घटाउने अपेक्षा गरिएको छ।
तीन दशकको सतत् सहयोग
भारत सरकारले सन् १९९४ यता आजसम्म नेपालभर १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ। यसका अतिरिक्त, ३०० स्कुल बस विभिन्न शैक्षिक संस्थाहरूलाई र २०० वटा सवारी साधन निर्वाचन तथा कानुन कार्यान्वयनका निकायहरूलाई दिएको विवरण पनि सार्वजनिक गरिएको छ। सन् २०२५ को मे महिनामा सगरमाथा संवाद आयोजनाका लागि परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन प्रदान गरिनुले पनि विकास सहयोगको दायरालाई फराकिलो बनाएको छ।
जनताबीचको सम्बन्धको जग
एउटा सरकार अर्को देशलाई दिने सवारी साधनभन्दा पनि यो प्रयास नेपाली जनताप्रतिको भारतीय जनताको सद्भावको प्रतिबिम्ब हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको यस्तो सहयोगले कूटनीतिक सम्बन्धभन्दा माथि उठेर जनता–जनता बीचको सम्बन्धलाई प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
एउटा एम्बुलेन्स बिरामीको ज्यान बचाउने माध्यममात्र होइन, यो दुःखमा साथ दिने मित्रताको अभिव्यक्ति पनि हो। र त्यही भावनामा आधारित भएर भारत र नेपालको सम्बन्ध अगाडि बढिरहेको छ—विकासको यात्रामा हातेमालो गर्दै।