ब्रेकिङ समाचार: इरानबाट नेपालीको उद्धारमा भारतीय दूतावास सक्रिय

काठमाडौं — इरानको द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकका लागि ठूलो राहतको खबर आएको छ। भारतीय दूतावास, तेहरानले अब आफ्नो उद्धार अभियानमा नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेट्ने घोषणा गरेको छ। यो निर्णय नेपाल सरकार र श्रीलंकाले औपचारिक रूपमा भारतीय सरकारसँग अनुरोध गरेपछि आएको हो।
यो जानकारी डब्लुएन न्यूजका विदेशी मामिला सहायक सम्पादक सिद्धान्त सिबलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, "नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, इरानमा भारतीय दूतावासको उद्धार प्रयासमा अब नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिनेछ।"
यो कदमले इरानमा रहेका नेपाली नागरिकमा ठूलो आशा र राहत दिएको छ। हालसालै इरानमा द्वन्द्व, अन्योल र असुरक्षाका कारण धेरै नेपालीहरू स्वदेश फर्कन चाहिरहेका थिए। नेपालको औपचारिक अनुरोधमा भारत सरकार सक्रिय रूपमा जुटेको खबरले इरानस्थित नेपाली समुदाय र उनीहरूका परिवारमा सकारात्मक सन्देश पुगेको छ।
नेपाल सरकार अब स्वयं यो प्रक्रियामा संलग्न भएको र भारतीय दूतावासले शीघ्र प्रतिक्रिया दिएको यस कूटनीतिक सहकार्यले द्वन्द्वमा फसेका नेपालीहरूका लागि सुरक्षाको अनुभूति दिलाएको छ।
यस विषयमा थप समाचार र जानकारी क्रमशः प्रकाशित गरिनेछ।