चीनद्वारा तिब्बती धार्मिक परम्पराको योजनाबद्ध विनाश

तिब्बतको धार्मिक र सांस्कृतिक अस्तित्व अहिले गम्भीर संकटमा परेको छ । चिनियाँ सरकारले लामो समयदेखि सञ्चालन गरिरहेको योजनाबद्ध गतिविधिहरूले तिब्बती बौद्ध मठ र धार्मिक परम्पराहरूलाई जर्बजस्ती विस्थापित गर्दैछ । यस प्रकारको व्यवस्थित हस्तक्षेपले न केवल तिब्बती जनताको धार्मिक स्वतन्त्रतालाई निषेध गरिरहेको छ, तर तिनीहरूको सामूहिक पहिचानमाथि नै आघात पुर्याइरहेको छ ।
सन् 2023 को अन्त्यतिर चिनियाँ प्रशासनले विशेष रूपमा तिब्बतको मठहरूमा गहिरो अनुगमन र नियन्त्रण सुरु गर्यो । हजारौं बालकहरूलाई तिब्बती बौद्ध मठहरूबाट हटाएर चिनियाँ आवासीय स्कुलहरूमा जबर्जस्ती पठाइएको छ, जहाँ उनीहरूलाई चिनियाँ भाषा, राष्ट्रवाद र कम्युनिस्ट सिद्धान्तबारे शिक्षण दिइन्छ । यस प्रक्रियाले उनीहरूको मातृभाषा, धर्म र संस्कृति सँगको सम्बन्ध कटौती गर्ने उद्देश्य राखेको देखिन्छ । बच्चाहरू आफ्ना अभिभावकहरूसँगबाट टाढा राखिन्छन् र आफ्नो जन्मजात संस्कारविहीन वातावरणमा हुर्काइन्छन्, जसले उनीहरूमा आत्मगौरवको भावना कमजोर बनाउँछ ।
यसका अतिरिक्त, चिनियाँ अधिकारीहरूले मठमा कार्यरत भिक्षुहरूमाथि कठोर प्रतिबन्ध लगाएका छन् । मठभित्र भिक्षुहरूको संख्या कटौती गरिएको छ, परम्परागत धार्मिक शिक्षा दिने अधिकार खारेज गरिएको छ, र तिब्बती धर्मगुरुहरूको गतिविधिमा निरन्तर निगरानी गरिएको छ । डिजिटल निगरानी उपकरण, सीसीटीभी क्यामेरा, र facial recognition प्रविधिहरू मठहरूमा अनिवार्य गरिएको छ । भिक्षुहरूलाई सामाजिक सञ्जाल वा सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाउने हकसमेत दिइएको छैन ।
चिनियाँ सरकारका अनुसार यो अभियान “विकास” र “राष्ट्रिय एकता”को लागि गरिएको हो । तर स्थानीय बौद्ध समुदायका अनुसार यो तिब्बती धर्म र संस्कृतिमाथि नियन्त्रण स्थापित गर्ने दीर्घकालीन रणनीति हो । तिब्बती धर्मगुरुहरू, विशेषतः दलाई लामाका अनुयायीहरूमाथि निगरानी र दमनको मात्रा बढ्दो छ । बीजिङले आफैंले नियुक्त गरेको “पञ्चेन लामा” लाई धर्मिक नेताको रूपमा अघि सारेर वास्तविक नेतृत्वप्रति तिरस्कार देखाएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू र तिब्बती निर्वासित सरकारद्वारा निरन्तर विरोध गरिए पनि चीनले आफ्नो नीति परिवर्तन गरेको छैन । युएन, युरोपेली युनियन, र अमेरिका जस्ता शक्तिहरूले चीनलाई तिब्बतीहरूको मौलिक अधिकारको संरक्षण गर्न आग्रह गरे पनि त्यो आग्रहलाई बेवास्ता गरिएको छ । तिब्बतीहरूका लागि यो केवल सांस्कृतिक संकट होइन, अस्तित्वकै प्रश्न बनिरहेको छ ।
चिनियाँ नेतृत्वद्वारा गरिँदै आएको यस्ता गतिविधिहरू तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदायले अझ कडा र स्पष्ट कदम चाल्न आवश्यक देखिन्छ । तिब्बती धार्मिक स्वतन्त्रताको रक्षा गर्नु केवल तिब्बतीहरूकै अधिकार होइन, विश्वका सबै स्वतन्त्रताप्रेमी मानवहरूको साझा दायित्व पनि हो ।