समाचार

हामी जनताले सास्ती भोग्दैछौं, झोले सिंहदरबारमा रमाइरहेका छन्!

हामी जनताले सास्ती भोग्दैछौं, झोले सिंहदरबारमा रमाइरहेका छन्!

काठमाडौँ —गत बिहीबार चितवनका अनिश आले मगरले कलंकीमा ओर्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने सार्वजनिक गाडी चढे। शरीरमा बाक्लो पसिना, झोलामा पासपोर्ट, र मनमा डर—‘कसम, दिल्ली पुगेपछि ढुक्क हुन्थ्यो, काठमाडौंको यो बस त हैन’।

‘११ बजे विमानस्थल पुगेर कागज मिलाएर १ बजे बोर्डिङ गर्ने टार्गेट थियो। समयमै नपुगे पनि कुनै भारतीय बस चालकले गाली गर्छ होला, यिनीहरूले त जनतालाई गधा ठान्छन्,’ आलेको कटाक्ष थियो।

कलंकीबाट एयरपोर्ट पुग्न उनलाई डेढ घण्टा लाग्यो। बस चढ्नासाथ फोहोर गन्ध, पछाडिबाट चिच्याउने सहचालक, कोचाकोच यात्रु, र हतारमा झर्ने बेला भाडा काड्न नपाएकोमा झन् गाली। देशको राजधानीको सार्वजनिक सेवा यही हो भने गाउँले के आशा गर्ला?


बस चढ्दा युद्ध, ओर्लिँदा आत्मग्लानि!

कृष्ण गौतम नियमित अफिस जाने कर्मचारी हुन्। चाबहिलबाट नयाँ बानेश्वरसम्म झुन्डिएर हिँड्छन्—जसरी फलामको सिँढी समाएर कसमसिने मान्छेहरू तस्करी झैँ ओर्लिन्छन्, उस्तै।

‘हात चिप्लिएर एकचोटि लड्नै लागेँ,’ उनले भने, ‘आफ्नो त केही भएन, पछाडि एउटी दिदीलाई त ह्यान्डलले पेटमा हिर्कायो।’ टेम्पोका सहचालकहरू गालीको भारी बोकेर आउने यात्रुलाई धम्क्याइरहेका हुन्थे।

सार्वजनिक यातायात अब यात्राको साधन होइन—पीडा बेच्ने फ्याक्ट्री हो।


सार्वजनिक गाडीको इज्जत—गुन्द्रुकको गन्ध र सहचालकको गाली

सुर्जेमान शाक्यलाई लाग्छ, ’म गाडी चढ्न होइन, युद्ध लड्न निस्केको हुँ।’ सिट त छैन, ठेला ठेल, झ्यालमा मान्छेको खुट्टा, ढोकामा हात, गाडीले ब्रेक लगाउँदा अगाडिको झोलाले पछाडिको टाउको हान्छ। सहचालक कराउँछ—‘छिटो झर्नुस्, पन्छिनुस्, पैसा दिनुस्!’ अनि यात्रु के गर्ने? आँखा झुकाएर शरीर सम्हाल्ने।


महिला यात्रुको पीडा : “बस चढ्नु भनेको बिहानको टाउको दुखाई हो”

मनिता महर्जन अफिसमा बेलैमा पुग्न ९:३० मा घरबाट निस्किन्छिन्। बस कहिले आउँछ, कहिले आउँदैन। कहिलेकाहीँ एक घण्टासम्म उभिएर जानुपर्छ।

‘पछाडि बसेको मान्छे गनाउँछ, अगाडि सहचालक कराउँछ।’ उनले भनिन्, ‘झर्न खोज्दा भिड यस्तो हुन्छ कि मान्छेको सासै अड्किन्छ।’ साँझ फर्किंदा उस्तै भीड, थकानमाथि थप थकान।


बस चढ्दा जनताको अपमान, ट्राफिक प्रहरी चुपचाप!

संगम सुनुवारले टिकाथलीबाट गाडी चढे। ‘कोटेश्वरमा झर्छु’ भनेका थिए। सहचालकले ‘ठिक छ’ भन्यो। तर, गाडी सिधा तीनकुने पुग्यो। सुनुवार कराइरहे—‘कोटेश्वरमा झर्नु थियो!’ तर गाडी रोकिएन।

त्यो बेला गाडीका ड्राइभरले भने—‘झार्दे त्यसलाई!’ अनि उनी भिडबाट लछारपछार पारेर ओर्लिए।

यात्रुहरू चढ्दा त ‘आउनुस्, सर्नुस्’ भनेर पुलुक्क हेर्छन्, तर ओर्लन खोज्दा गाडीको ढोका थुन्छन्। यो के लोकतन्त्रको नमूना हो? वा हुकुमी गाडी स्टाफको खटपट शासन?


सरकार छैन, प्रहरी छैन, कानुन छैन—छ त सहचालकको गाली मात्रै!

राजभण्डारी, जो दिनहुँ माइक्रो चढ्छन्, भन्छन्—‘झर्ने बेला गाडी नरोकिने, चढ्न खोज्दा सर सर भन्नेलाई पछाडिबाट धक्का, अनि गाडी स्टेसन नआउँदै ‘भाडा देऊ’ भन्ने।’

हाम्रो नागरिकता छ, तर यात्रु हुन पाउँदैनौं।


जनताले सरकार खोज्न कहाँ जाने?

सुनिल मोक्तान ठट्यौलो स्वरमा भन्छन्—‘बस चढेपछि थाहा हुन्छ, यो देशमा सरकार छैन।’

बसमा चढ्दा ठ्याक्कै “फाँसीको पर्खाइमा रहेको कैदी” झैँ यात्रा सुरु हुन्छ। यात्रुको भोक, प्यास, थकाइ, स्वास्थ्य, तल्लो कम्मरको दुखाइ—सबैभन्दा ठूलो मजाक बनेको छ।


सार्वजनिक यातायात सुधार्न अब “सरकारले पनि बस चढोस्”

सुबोध केसी भन्छन्—‘बसमा चढ्नेहरूलाई त समाजले पनि हेप्छ। मोटरसाइकल, कार नभएका मात्र चढ्छन् भन्ने मान्यता छ।’ अनि सबैलाई भन्ने भनाइ—“बाइक किन, बस चढेर हिँड्न मिल्दैन!”

सरकार, ट्राफिक, यातायात विभाग कसैको चासो छैन। ट्राफिक प्रहरी त चोकमा उभिएर सहचालकले यात्रुलाई गाली गरिरहेको हेरिरहेका हुन्छन्।

न काम गर्छन्, न कारबाही गर्छन्, साक्षी भएर हेर्छन्।


र अन्त्यमा—झोले हरु सिंहदरबारमा बसेर तमासा हेरिरहेका छन्।