समाचार

दलाई लामाविरुद्ध चीनको प्रपञ्च : झूटो पञ्चेन लामाको प्रयोग

दलाई लामाविरुद्ध चीनको प्रपञ्च : झूटो पञ्चेन लामाको प्रयोग

तिब्बती धर्मगुरु दलाई लामाको प्रभावलाई कमजोर पार्न चीनले फेरि एकपटक सत्ताको औपचारिकता प्रयोग गर्दै नयाँ राजनीतिक चालमा प्रवेश गरेको छ। हालै चीनको कम्युनिस्ट पार्टी (CCP) ले आफूले मनोनित गरेको तथाकथित “पञ्चेन लामा” लाई तिब्बती समाजमा वैधता दिलाउन विभिन्न कूटनीतिक र धार्मिक माध्यम प्रयोग गरिरहेको छ।

सन् १९९५ मा दलाई लामाले पञ्चेन लामाको रूपमा मान्यता दिएको ६ वर्षीय गेधुन छोकी निमा अपहरणमा परेपछि चीनले आफ्नो प्रभावमा रहेको अर्को बालकलाई “पञ्चेन लामा” घोषणा गर्‍यो। त्यतिबेलादेखि नै तिब्बती समुदायले यस कदमलाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै विरोध जनाउँदै आएको छ।

हाल चीनले यही झूटो पञ्चेन लामालाई प्रचारको माध्यम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा तिब्बती बौद्धधर्ममाथिको आफ्नो नियन्त्रणलाई वैध ठहर्याउने प्रयास गरिरहेको देखिन्छ। केही महिनायता “पञ्चेन लामाले” चीनप्रशासित तिब्बती क्षेत्रका विभिन्न धार्मिक स्थलहरू भ्रमण गर्दै कथित ‘धार्मिक स्वतन्त्रता’ को झुटो चित्र कोर्दैछन्।

तिब्बती शरणार्थी र मानवअधिकार समूहहरूले यसलाई चिनियाँ रणनीतिक “धर्मिक प्रोपोगान्डा” को रूपमा व्याख्या गर्दै, यो धार्मिक नेतृत्वको प्रकृतिलाई तोडमोड गर्ने र धर्मलाई राजनीतिक औजार बनाउने दुस्साहसिक कदम भएको आरोप लगाएका छन्।

दलाई लामाको उत्तराधिकारी चयन गर्ने स्वतन्त्र अधिकारमाथि राज्यले हस्तक्षेप गर्नु न केवल तिब्बती धर्मावलम्बीहरूप्रति अन्याय हो, यो धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूमाथिको उल्लङ्घन पनि हो।

विश्वका विभिन्न लोकतान्त्रिक राष्ट्रहरूले दलाई लामाको समर्थनमा आफ्नो नीतिगत प्रतिबद्धता जनाइरहँदा, चीनको यस्तो व्यवहारले तिब्बतको भविष्य अझ अनिश्चित बनाएको छ। नेपालको सन्दर्भमा पनि, धार्मिक स्वतन्त्रता र आत्मपहिचानको सवालमा चिनियाँ दबाबहरूबाट सचेत रहनुपर्ने आवश्यकता दिनप्रतिदिन झनै स्पष्ट हुँदै गएको छ।