आईपीएलको मूल्य १८.५ अर्ब डलर पुग्यो: मिडिया, प्रायोजन र फ्यान सहभागिताले दिएको उचाइ

काठमाडौं, २०८१ साउन ३ — भारतीय प्रिमियर लिग (आईपीएल) को कुल मूल्यांकन हालै सार्वजनिक भएको नयाँ तथ्यांक अनुसार १८.५ अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०२۴ को तुलनामा यो १२.९ प्रतिशतको वृद्धि हो, जसले आईपीएललाई विश्वको सबैभन्दा मूल्यवान खेल लिगहरूमध्ये एकमा उभ्याएको छ।
“LiveMint” मा प्रकाशित रिपोर्ट अनुसार, मिडिया अधिकार, प्रायोजन सम्झौता, र फ्यान सहभागीता— यी तीन मुख्य कारकहरूले आईपीएलको आर्थिक मूल्यमा लगातार उचाइ थपिरहेका छन्। डिजिटली स्ट्रिमिङ अधिकारको बोली नै अर्बौं डलरमा पुग्नु, फ्रेन्चाइज ब्रान्डको अन्तर्राष्ट्रिय विस्तार, र सामाजिक सञ्जालमार्फत दर्शकको प्रत्यक्ष सहभागिताले यस लिगलाई केवल खेल प्रतियोगिता होइन, एक ‘ब्रान्ड इकोसिस्टम’ मा रुपान्तरण गरेको छ।
विशेषज्ञहरूका अनुसार, आईपीएलले भारतीय खेल–अर्थतन्त्रमा मात्र होइन, विश्व खेल व्यवसायमा पनि ठुलो भूमिका खेल्न थालेको छ। भारतीय युवाहरूको आकांक्षा, विज्ञापन बजारको आकर्षण, र स्थानीय खेलाडीको उदय— यी सबैले आईपीएललाई सांस्कृतिक र आर्थिक रूपमै शक्तिशाली बनाएका छन्।
यसैबीच, बीसीसीआईले आगामी सिजनहरूमा अझ नयाँ प्रविधि र दर्शकअनुकूल नवप्रवर्तन ल्याउने संकेत दिएको छ, जसमा भर्चुअल अनुभव, अन्तरक्रियात्मक स्टाट्स र अन्तर्राष्ट्रिय दर्शक पहुँचलाई प्राथमिकता दिइने बताइएको छ।
आईपीएलको यो सफलताले नेपाललगायत दक्षिण एशियाली मुलुकलाई पनि खेल व्यवसाय र खेल पर्यटनको सम्भावना पहिचान गर्न प्रेरणा दिएको छ। खेल केवल मनोरञ्जन नभई आर्थिक सशक्तीकरणको गतिशील माध्यम हुनसक्छ भन्ने उदाहरण आईपीएलले संसार सामु प्रष्ट पारेको छ।