"घट्दो संख्यामा भरतपुर अस्पतालमा डेलिभरी : अब गाउँघरमै पुग्यो मातृत्व सेवा"
कुनै समय देशकै दोश्रो व्यस्तमातृत्व केन्द्रका रूपमा परिचित भरतपुर अस्पतालमा अहिले प्रसूति सेवा लिने महिलाको सङ्ख्या उल्लेख्य रूपमा घट्दो क्रममा छ। काठमाडौँको परोपकार प्रसूति गृहपछि दोस्रो स्थानमा रहेको यस सरकारी अस्पतालमा विगतमा वर्षमा १६ हजारसम्म महिलाले बच्चा जन्माउने सेवा लिने गरेका थिए। तर पछिल्लो तीन वर्षमा यो संख्या क्रमशः घट्दै गएको छ।
घट्दो आँकडाः
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा विभागीय प्रमुख प्राडा. सुनिलमणि पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जम्मा ८,३१८ महिलाले मात्र प्रसूति सेवा लिएका छन्, जुन विगतका वर्षहरूको तुलनामा निकै कम हो।
तीमध्ये ४,३८३ महिलाको सामान्य (नर्मल) डेलिभरी भएको छ, जुन ५२.४५ प्रतिशत हो। ३,७६७ महिलाको सिजेरियन (शल्यक्रिया) डेलिभरी गरिएको छ, जुन ४५.२८ प्रतिशत हो। १८८ जनाको जटिल प्रसूति (२.२६ प्रतिशत) भएको जानकारी डा. पोखरेलले दिनुभयो। त्यसअघिको वर्ष २०८०/८१ मा ९,३५५ महिलाले सेवा लिएका थिए भने, २०७९/८० मा यो संख्या ११,८९४ थियो। यसले पछिल्ला वर्षमा क्रमशः सेवा लिनेको सङ्ख्या घटिरहेको प्रष्ट हुन्छ।
किन घट्यो संख्या?
डा. पोखरेलका अनुसार यो घट्दो प्रवृत्ति केवल भरतपुरमा मात्र होइन, देशभरकै सरकारी अस्पतालहरूमा देखिएको साझा समस्या हो। “देशैभर प्रसूति सेवा लिने महिलाको संख्या लगभग ३० प्रतिशतले घटेको छ,” उहाँ बताउनुहुन्छ। यसको पछाडि मुख्य कारणहरू यस्ता छन्: बच्चा जन्माउने उमेरका युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर गएका छन्, जसले गर्दा स्वदेशमा बच्चा जन्माउने दर घटेको छ। विगतमा गाउँगाउँ र टाढाका जिल्लाबाट समेत महिलाहरू भरतपुर अस्पताल आउने गर्दथे। तर अहिले नगरपालिकाहरूमा नगर अस्पताल, स्वास्थ्य चौकी, र बर्थिङ सेन्टर स्थापना भएसँगै स्थानीयस्तरमै सेवा उपलब्ध हुन थालेको छ।
निजी अस्पतालमा सेवा लिनेको संख्या बढेको जस्तो देखिए पनि यो घट्दो संख्याको मुख्य कारण होइन। बरु स्थानीयस्तरमै सेवा सहज भएकाले भरतपुर अस्पतालको चाप घटेको डा. पोखरेल बताउनुहुन्छ। सेवाको पहुँच विस्तार र राज्यको भूमिका यो घट्दो संख्या नकारात्मक पक्ष मात्र होइन, राज्यले मातृत्व सेवा पहुँचयोग्य बनाएको संकेत पनि हो। अहिले धेरै पालिकाहरूले बर्थिङ सेन्टर र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा दक्ष जनशक्ति र उपकरणको व्यवस्था गर्न थालेका छन्। यसले गर्दा पहिले भरतपुरजस्ता ठूलो अस्पताल धाउनु पर्ने बाध्यता अब हटेको छ।
सेवा घरनजिकै उपलब्ध भएपछि महिलाहरूको स्वास्थ्यसम्बन्धी जोखिम पनि घटेको छ। डा. पोखरेलको सन्देश उहाँ भन्छन्, “यो संख्या घट्नु सरकारी अस्पतालको कमजोरी होइन, सेवा विस्तारको परिणाम हो।" एक समय व्यस्त र केन्द्रिकृत मातृत्व सेवा दिने भरतपुर अस्पतालमा घट्दो चापले अब नेपालमा मातृत्व सेवा विकेन्द्रित हुँदै गएको संकेत गर्छ। सेवा महिलाहरूको नजिक पुगेको छ, जो सास्ती, समय र खर्च बचत गर्ने दिशामा सकारात्मक परिवर्तन हो। यसले सामाजिक रूपान्तरण र सरकारी प्रयास दुवैलाई उजागर गरेको छ।