समाचार

"खेल जीवन समर्पित एक योद्धाको बिदाइ : सुरेश हमालको निधनले स्तब्ध भयो सुदूरपश्चिम"

"खेल जीवन समर्पित एक योद्धाको बिदाइ : सुरेश हमालको निधनले स्तब्ध भयो सुदूरपश्चिम"

सम्पूर्ण जीवन फुटबललाई समर्पित गरेका सुदूरपश्चिम प्रदेशका खेल अभियन्ता सुरेश हमालको ४८ वर्षको उमेरमा निधन भएको छ। मृगौला रोगबाट पीडित हमालको भारतको बरेलीमा उपचारको क्रममा आज निधन भएको हो।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका देवेन जोशीका अनुसार, हमाल मधुमेहबाट ग्रसित हुनुहुन्थ्यो र पछिल्लो केही वर्षदेखि मृगौला समस्यासमेत झेल्दै आउनु भएको थियो। दुवै मृगौला काम गर्न छोडेपछि श्रीमतीले मृगौला दिने तयारी गरिरहँदा ट्रान्सप्लान्टको पर्खाइमै उहाँले ज्यान गुमाउनु भयो।

धनगढीमा ठुलो धनराशिमा आयोजना हुने ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताका अभियन्ता हमाल सुदूरपश्चिम–११ क्लबका अध्यक्ष समेत हुनुहुन्थ्यो। उहाँको व्यक्तिगत लगानीमा क्लबका खेलाडीलाई घरमै राखी प्रशिक्षण दिने व्यवस्था समेत गरिएको थियो।

उहाँको प्रयासले काठमाडौंका चर्चित ए डिभिजन क्लबहरु धनगढी आइ फुटबल खेलेका थिए। हमालको नेतृत्वमा खप्तड गोल्डकपको छैटौं संस्करणसम्म सफल आयोजना भइसकेको छ। सुरेश हमालको निधनले सुदूरपश्चिमको खेल क्षेत्र शोकमा डुबेको छ।

उहाँजस्ता समर्पित खेल व्यक्तित्वको अभावले सुदूरपश्चिमको व्यावसायिक फुटबलमा गहिरो खालीपन बनाएको छ। उहाँको पार्थिव शरीर भारतबाट नेपाल ल्याउने तयारी भइरहेको छ। कैलालीको भजनी नगरपालिका–५ मा जन्मिएका हमाल हाल धनगढीमा बसोबास गर्दै आउनु भएको थियो। फुटबलमा भविष्य खोज्ने युवा पुस्ताका लागि उहाँ प्रेरणाको स्रोत रहिरहनेछ।