माछापुच्छरेको पहिरोमा एकको मृत्यु, शिक्षक घाइते

कास्की जिल्लाको माछापुच्छरे गाउँपालिका–३, घाचोकमा गएको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
बुधबार बिहान करिब पौने १० बजे घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छरे सडकखण्डमा पहिरो गएको थियो। पहिरोमा पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ पुरिएर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।
गुरुङ बङ्गुर फार्ममा दाना लिएर जाँदै गर्दा पहिरोले पुरेको थियो। दिउँसो साढे २ बजेतिर उद्धारका क्रममा उनको शव फेला परेको प्रहरीको भनाइ छ।
सोही पहिरोमा घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल पनि घाइते भएका छन्। उहाँ विद्यालय जान मोटरसाइकलमा हिँड्नुभएको बेला पहिरोमा पर्नु भएको हो।
स्थानीय बासिन्दाले पोखरेललाई उद्धार गरी उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याएका छन्। अस्पतालमा उनको उपचार भइरहेको छ। वर्षा यामसँगै कास्कीका विभिन्न क्षेत्र पहिरोको जोखिममा परेका छन्। प्रहरी र स्थानीय बासिन्दाले सतर्क रहन अनुरोध गरेका छन्।