समाचार

राप्तीको रौद्रता रोकियो: आपतकालीन तटबन्धले बस्ती जोगायो

राप्तीको रौद्रता रोकियो: आपतकालीन तटबन्धले बस्ती जोगायो

 बाँके — राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीद्वारा निर्माण गरिएको आपतकालीन तटबन्धले नदीको धार परिवर्तन गरिदिएको छ। तटबन्ध निर्माणपछि नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका करिब एक दर्जन बस्तीहरू बाढीको जोखिमबाट सुरक्षित भएका छन्।

दुई वर्षअघि आएको बाढीले पुरानो पक्की तटबन्ध बगाएपछि बाढीको उच्च जोखिममा परेका यी बस्तीमा नयाँ संरचना नबन्दा स्थायी त्रास थियो। बजेट अभावका कारण समयमा तटबन्ध नबन्दा ग्रामीण बासिन्दा वर्षेनी डुबानको चिन्तामा थिए।

तर, जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार छोटो समयमै स्थानीय र प्राविधिक टोली दिनरात खटिएर ४०० मिटर लामो आपतकालीन तटबन्ध निर्माण गरेका हुन्। यो तटबन्धमा नयाँ प्रविधि प्रयोग गरिएको छ—सिमेन्टको पोल, जाली, बाँस, बालुवाभरिएका बोरा प्रयोग गरी आरसीसी पर्कोपाइन निर्माण गरिएको हो।

राप्ती नदीलाई नयाँ धारतर्फ मोड्न १०/१० सेन्टिमिटरको मोटाइ भएको ३ मिटर लामो सिमेन्ट पोलहरूको सहायतामा करिब पाँच क्विन्टल तौल भएको आरसीसी पर्कोपाइन नदीमा राखिएको छ। दुई तहमा राखिएको यस संरचनालाई नदीमा स्थापित गर्न बुटबलबाट ४० मिटर लामो बुम भएको क्रेन ल्याइएको थियो।

उक्त संरचनाले नदीको वेगलाई तोड्दै कटान रोक्ने र धार परिवर्तन गराउने काम गरेको हो। यसले बाढी जोखिममा रहेका गाउँहरूलाई तत्कालका लागि ठूलो राहत दिएको छ।