समाचार

स्याउ पाक्यो, सडक रोकियो: बाजुराका किसानको चिन्ता

स्याउ पाक्यो, सडक रोकियो: बाजुराका किसानको चिन्ता

 

 

स्याउ पाक्ने मुख्य समयमा सडक अबरुद्ध भएपछि बाजुराका किसान फेरि चिन्तित भएका छन्। जिल्लाको पूर्वी–उत्तर क्षेत्रका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा लगायतका ठाउँमा अहिले स्याउ पाक्दैछ।

तर, मार्तडी–कोल्टी सडक असारदेखि भदौसम्म सधैं अवरुद्ध हुने भएकाले स्याउ बजारमा लैजाने समस्याले किसानहरू संकटमा परेका हुन्। बुढीनन्दा नगरपालिका निवासी स्याउ किसान मानबहादुर रावत भन्छन्, “गाउँमै बजार छैन, बारीमा स्याउ पाक्दैछ, तर सडक बन्द हुँदा कहाँ पुर्‍याउने भन्ने चिन्ता लागेको छ।”

उनका अनुसार समयमै सडक नखुल्दा विगतझैं यो वर्ष पनि स्याउ बारीमै कुहिने डर छ। बाजुरामा १५० परिवारले स्याउ खेती गर्दै आएका छन्। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट १,६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

पाँच सय पन्ध्र क्विन्टल स्याउ बाहिर पठाइएर करिब ७०–८० लाख रुपैयाँ आम्दानी भएको थियो। फुजी, गोल्डेन रेड, डेलिसियस, र स्थानीय जातका स्याउहरू यहाँ उत्पादन हुने गर्छन्। ४१० हेक्टरमा स्याउ खेती भइरहे पनि मात्र २ हेक्टर जमिनमा फलिफाप भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए।

२०७६ असारमा दुई निर्माण कम्पनीले ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडको ठेक्का लिएका थिए। ३५ करोड भुक्तानी पाए पनि हालसम्म ३१ किलोमिटर सडक पिच भएको छैन। ठेकदारको लापरवाहीले निर्माण अलपत्र परेको हो। हाल वर्षात्का कारण पहिरोले सडक अवरुद्ध छ।