बाँकेमा १५ हजार घरपरिवार बाढी–डुबानको जोखिममा, विपद् समितिको विशेष तयारी बाँके

यस वर्ष मनसुनको समयमा बाँके जिल्लामा करिब १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार जोखिम न्यूनीकरणका लागि जिल्लाका आठै स्थानीय तह र समितिले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर कार्यान्वयन गरिरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थाले गर्दा पूर्वतयारीका सबै काम सम्पन्न भई कार्यान्वयनमा रहेको बताए। उनले बाढी जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत, साधन र चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको स्पष्ट पारे।
सबैभन्दा बढी जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा विशेष निगरानी र राहत व्यवस्थापन गरिएको समितिले जनाएको छ। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार बाढी र कटानले वर्षौंयता समस्या झेलिरहेका क्षेत्रलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
त्यस्तै, नरैनापुर अध्यक्ष ईश्तियाक अहमद शाह र राप्तीसोनारी अध्यक्ष तप्त पौडेलले राप्ती नदी नियन्त्रणका कार्यसँगै अस्थायी सेल्टर र पूर्वतयारी कार्य अघि बढाइएको जनाए। स्थानीयलाई भारी वर्षा भएको बेला नदी किनाराबाट टाढा रहन, पहिलेदेखि डुबान प्रभावित क्षेत्रका बासिन्दाले अस्थायी सेल्टरमा जान र उद्धार टोलीसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।
जिल्ला विपद् समितिका अनुसार यस वर्ष बाढी र डुबान मात्र नभई शीतलहर, लु लगायतका प्राकृतिक विपद्बाट करिब २५ हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ। समितिले हरेक वर्ष जस्तै यस वर्ष पनि वार्षिक जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर कार्यान्वयन गरिरहेको जनाएको छ।