समाचार राजनीति

'सूचना प्रविधि नै समृद्धिको आधार हो’

'सूचना प्रविधि नै समृद्धिको आधार हो’

 सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आईटी) क्षेत्रलाई समृद्ध नेपाल निर्माणको आधार भन्दै युवालाई यसमा अग्रसर हुन आह्वान गर्नुभएको छ।

कान्तिपुर सिटी कलेजमा आज आयोजित “केसीसी एक्जीविसन–२०२५” को उद्घाटन गर्दै उहाँले युवाले सिर्जनात्मक ढंगले सूचना प्रविधिमा दक्षता हासिल गरेर स्वदेशमै रोजगार सिर्जना गर्न सक्ने बताउनुभयो। मन्त्री गुरुङका अनुसार विश्वका विकसित देशहरू सूचना प्रविधिको माध्यमबाट तीव्र गतिमा अघि बढिरहेका छन्, तर नेपालमा नीति, पूर्वाधार र दक्ष जनशक्तिको अभावले प्राविधिक क्रान्तिमा पछि परेको छ।

“हामी यस वर्ष फोरजी सेवा घर–घर पुर्‍याउने र फाइभजी सेवा प्रारम्भ गर्ने तयारीमा छौँ,” मन्त्री गुरुङले भन्नुभयो, “अबको विकास भनेकै सूचना प्रविधिमा आधारित समृद्धि हो।”

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) की अध्यक्ष सुनैना घिमिरेले युवाले आईटीको माध्यमबाट स्वदेशमै रोजगारी सिर्जना गरिरहेका उदाहरण प्रस्तुत गर्नुभयो। मेहनत गर्ने र सीप भएका युवालाई क्यानले प्रोत्साहन दिँदै आएको उहाँको भनाइ थियो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्र ढकालले भने देशमा इन्जिनियरको अभाव, युवाको विदेश पलायन र राज्यको नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गर्नुभयो। दुई दिनसम्म चल्ने प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका नवीनतम सूचना प्रविधिसम्बन्धी परियोजनाहरू प्रदर्शित गरिएको छ।