विपद् पूर्वतयारीमा स्याङ्जाका पालिकाहरूको ऐक्यबद्धता: ३८ लाख बराबरको उद्धार सामग्री खरिद

स्याङ्जा जिल्लाका सबै ११ वटा पालिकाले विपद् व्यवस्थापनको लागि ऐक्यबद्धता प्रदर्शन गर्दै सामूहिक पूर्वतयारी सुरु गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको निर्णयअनुसार पालिकाहरूले आपसी सहकार्य गर्दै विपद्को जोखिम न्यूनीकरण तथा त्वरित उद्धार सुनिश्चित गर्न सामूहिक कोष स्थापना गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरीप्रसाद अर्यालका अनुसार नगरपालिकाले प्रतिपालिका पाँच लाख ५० हजार र गाउँपालिकाले चार लाखका दरले रकम संकलन गरेका थिए। यसरी जम्मा भएको ३८ लाखमध्ये पहिलो चरणमा २० लाख बराबरको विपद्जन्य उद्धार सामग्री खरिद गरिएको छ। उक्त सामग्री जिल्लास्थित चार वटै सुरक्षा निकायको सहभागितामा तय गरिएको चेकलिष्टका आधारमा छनोट गरिएको हो।
सामग्रीहरू जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ। उद्धार सामग्रीलाई सबै पालिकामा सहज रूपमा उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले पायक पर्ने स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार दक्ष उद्धारकर्मीको साथमा तत्काल उद्धार गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका सुरक्षाकर्मीहरूलाई औपचारिक रूपमा उद्धार सामग्री हस्तान्तरण गर्नुभएको छ।
यो सहकार्यले विपद् व्यवस्थापनमा स्थानीय सरकारहरूको गम्भीरता र आपसी सहकार्यको उदाहरण पेश गरेको छ। समयमै तयारीले जनधनको क्षति न्यूनीकरण गर्न सकिने विश्वास प्रशासनले व्यक्त गरेको छ।