समाचार

"सिन्धुलीमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी साधन रोकिए"

"सिन्धुलीमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी साधन रोकिए"

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि सडकमा पहिरो खस्नुका साथै लेदो जम्दा सडक सञ्चालनमा अवरोध आएको हो।

गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा हिलो र लेदो जमेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैंसी बोकेको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक लेदोमा फसेको छ। ट्रक निकाल्ने प्रयास भइरहे पनि बाटो अझै खुल्न सकेको छैन। त्यस्तै, अन्य तीन वटा ट्रक पनि बाटोमै रोकिएका छन्।

त्यसैगरी, बलेनी क्षेत्रमा सडक माथिबाट खसेको ठूलो पहिरोले पनि मार्ग अवरुद्ध भएको छ। खुर्कोट–घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमै रोकिएका छन्। ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट काठमाडौँतर्फ जाँदै गरेका यात्रु र सवारीसाधनहरूलाई बाटो खुल्ने प्रतिक्षामा केही समय रोकिइरहनु परेको छ।

सिन्धुलीमा गत रातिदेखि लगातार वर्षा भइरहेकोले अवस्था अझै जटिल हुन सक्ने बताइएको छ। बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।